होस विश्वविद्यालय र नेपाली विद्यार्थीले संकलन गरेको ३ करोड वन नेपाल सरकारलाई हस्तान्तरण

0
25

दक्षिण कोरियाको छन्नान र आसान क्षेत्रमा रहेको होस विश्वविद्यालय (Hoseo University) तथा उक्त विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले सञ्चालन गरेको सहयोग अभियानमार्फत संकलन गरिएको करिब ३ करोड कोरियन वन नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

नेपालमा गएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले संकलन गरिएको उक्त रकम सोमबार दक्षिण कोरियास्थित नेपाली राजदूतावासमार्फत नेपाल सरकारको खातामा जम्मा गरिएको हो ।

नेपालमा बाढीबाट भएको जनधनको क्षतिको खबर पाएपछि नेपाली विद्यार्थीहरूको पहलमा सहयोग अभियान सुरु गरिएको थियो । अभियानमा विश्वविद्यालयका विद्यार्थी, प्राध्यापक, कर्मचारी, पूर्वविद्यार्थी, विभिन्न बैंक तथा वित्तीय संस्था, स्थानीय निकाय र अन्य संघसंस्थाका प्रतिनिधिहरूले सहयोग गरेका थिए ।

विश्वविद्यालय र नेपाली विद्यार्थीहरूको पहलमा सुरु भएको अभियानले दक्षिण कोरियाको छन्नान र आसान क्षेत्रका स्थानीय समुदायलाई समेत जोड्न सफल भएको थियो। अभियानमा करिब ५०० जनाको सहभागिता रहेको जनाइएको छ ।

यसअघि गत सेप्टेम्बरमा विश्वविद्यालयका आसान र छन्नान क्याम्पसमा ‘SAVE NEPAL, SAVE US, SAVE EARTH’ अर्थात् ‘नेपाल बचाऔँ, हामीलाई बचाऔँ, पृथ्वी बचाऔँ’ भन्ने नारासहित जलवायु परिवर्तन र प्राकृतिक विपत्तिबारे जनचेतना फैलाउने कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। उक्त अभियानमार्फत विद्यार्थीहरूले राहत रकम संकलन गर्नुका साथै जलवायु परिवर्तनबाट उत्पन्न हुने प्राकृतिक विपत्तिबारे जनचेतना फैलाउने प्रयास गरेका थिए ।

राहत रकम हस्तान्तरण कार्यक्रममा विश्वविद्यालयका डिन, प्राध्यापक, विद्यार्थी तथा नेपाली समुदायका प्रतिनिधिका रूपमा शुभराज भोम्जनको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा विश्वविद्यालयले आगामी दिनमा पनि नेपाल र नेपाली समुदायसँग निरन्तर सहकार्य गर्दै मानवीय तथा सामाजिक क्षेत्रमा सहयोगलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको थियो ।

सहयोग रकम ग्रहण गर्दै दक्षिण कोरियास्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत निर्मलप्रसाद भट्टराईले नेपालमा बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले मानवीय भावना र सद्भावका साथ सहयोग जुटाएकोमा होस विश्वविद्यालय परिवारप्रति नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट आभार व्यक्त गर्नुभएको थियो ।

विदेशमा रहेर पनि मातृभूमिमा परेको विपत्तिमा सहयोग जुटाउन नेपाली विद्यार्थीहरूले देखाएको सक्रियता तथा विश्वविद्यालय र कोरियाली समुदायको सहभागिताले नेपाल र दक्षिण कोरियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन योगदान पुर्‍याएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्