दक्षिण कोरियामा ‘खुल्ला लोकदोहोरी प्रतियोगिता २०२६’ आयोजना हुँदै, आवेदन खुल्ला

0
7

प्रवासमा नेपाली लोकसंस्कृति, कला र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउने उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरिया ले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता २०२६’ आयोजना गर्ने भएको छ। जिल्लाका विकट शैक्षिक संस्थाहरूमा शैक्षिक सामग्री सहयोग गर्ने लक्ष्यका साथ आयोजना हुन लागेको प्रतियोगिताका लागि आवेदन खुला गरिएको छ।

नेपाल गोरखा परिवार, दक्षिण कोरियाका अध्यक्ष देवी गौतमले प्रतियोगिता आगामी अगस्ट १६, २०२६ (आइतबार) ग्यङ्गी–दोको फेङटेकस्थित निर्माया दोहोरी साँझको हल मा आयोजना हुने जानकारी दिनुभयो। कार्यक्रम एकै दिनमा सम्पन्न गर्ने लक्ष्य रहेकाले बिहान ८ बजेदेखि नै प्रतियोगिता सुरु गरिने उहाँले बताउनुभयो।

“प्रवासी भूमिमा हाम्रो एकता, हरेक दुःख–सुखमा साथ दिने हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको प्रतियोगितामा दक्षिण कोरियाभर रहेका नेपाली लोकदोहोरी कलाकार, गायन प्रतिभा तथा लोकसंस्कृतिप्रेमीहरूले सहभागिता जनाउन सक्नेछन्।

प्रतियोगिताको विशेष आकर्षण भनेको एकल तथा टिम दुवै रूपमा आवेदन दिन सकिने व्यवस्था हो। दोहोरी गायनमा रुचि भए पनि आफ्नो जोडी नभएका कलाकारलाई समेत अवसर प्रदान गर्न महिला वा पुरुष जोसुकैले एक्लै आवेदन दिन सक्ने र उनीहरूका लागि आवश्यक भाका छोप्ने कलाकारको व्यवस्था आयोजक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, कोरिया शाखा मार्फत मिलाइने जनाइएको छ। यस व्यवस्थाले नयाँ तथा उदीयमान कलाकारहरूलाई समेत प्रतियोगितामा सहभागी हुन सहज बनाउने अपेक्षा गरिएको

आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिका लागि प्रवेश शुल्क ३५ हजार कोरियन वन तथा दोहोरी टिम दर्ता शुल्क ५० हजार वन निर्धारण गरिएको छ। प्रतियोगिताले व्यक्तिगत तथा समूहगत दुवै प्रतिभालाई समान अवसर प्रदान गर्ने विश्वास गरिएको छ। साथै, टिकट खरिद गर्ने सम्पूर्ण दर्शक तथा सहभागीहरूका लागि स्वादिष्ट खानाको विशेष व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितालाई थप आकर्षक बनाउन लोकदोहोरी क्षेत्रका चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। साथै कार्यक्रमको सञ्चालन तथा विभिन्न सांस्कृतिक प्रस्तुतिहरूले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने आयोजकको तयारी रहेको छ। प्रतियोगिताले दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच कला, संस्कृति र आपसी सद्भावलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतियोगिताका विजेताहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम पुरस्कार ८ लाख कोरियन वन, द्वितीय पुरस्कार ४ लाख कोरियन वन र तृतीय पुरस्कार ३ लाख कोरियन वन प्रदान गरिनेछ। पुरस्कार राशिले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र उत्साहजनक बनाउने आयोजकको विश्वास छ।

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले कार्यक्रमबाट संकलित रकम तथा प्राप्त सहयोगलाई सामाजिक कार्यसँग जोड्दै नेपालका विकट क्षेत्रका शैक्षिक संस्थाहरूलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ। यस अर्थमा प्रतियोगिता केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई सामाजिक उत्तरदायित्व वहन गर्ने अभियानका रूपमा समेत अगाडि बढाइएको छ।

अध्यक्ष देवी गौतमले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई प्रतियोगितामा सहभागी भई आफ्नो कला, प्रतिभा र लोकसंस्कृतिप्रतिको प्रेम प्रस्तुत गर्न आग्रह गर्नुभएको छ। साथै कार्यक्रमलाई सफल बनाउन नेपाली समुदाय, शुभेच्छुक तथा दर्शकलाई उपस्थित भई सहयोग गर्न अनुरोध गर्नुभएको छ।

प्रतियोगितासम्बन्धी थप जानकारी तथा आवेदनका लागि पोस्टरमा उल्लेखित सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सकिने जनाइएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्