नेपालका बाढीपीडितका लागि नामसउल विश्वविद्यालयले राहत सहयोग अभियान सञ्चालन गर्ने

0
22

सेप्टेम्बर १० सम्म सहयोग रकम सङ्कलन गरिने, सङ्कलित रकम कोरियन रेडक्रसमार्फत राहत तथा पुनर्निर्माणमा प्रयोग हुने

सउल, दक्षिण कोरिया । नेपालमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि दक्षिण कोरियास्थित नामसउल विश्वविद्यालयले आपत्कालीन राहत सहयोग अभियान सञ्चालन गर्ने भएको छ। विश्वविद्यालयले “TOGETHER, WE STAND WITH NEPAL” अर्थात् “हामी एकजुट भएर नेपालको साथमा छौँ” भन्ने नारासहित आजदेखि सेप्टेम्बर १० सम्म सहयोग रकम सङ्कलन गर्ने भएको हो।

नामसउल विश्वविद्यालयका कुलपति युन सुङ–योङको नेतृत्वमा सञ्चालन हुने अभियानमा विश्वविद्यालयका सम्पूर्ण प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूले स्वेच्छिक रूपमा सहभागिता जनाउन सक्नेछन्। अभियानको उद्देश्य बाढीबाट प्रभावित नेपाली नागरिकलाई आपत्कालीन राहत उपलब्ध गराउनुका साथै प्रभावित क्षेत्रको पुनर्निर्माणमा सहयोग पुर्‍याउनु रहेको छ।

नामसउल विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरू पनि स्वयंसेवकका रूपमा अभियानमा सहभागी हुने भएका छन्। उनीहरूले विश्वविद्यालय समुदायमाझ सहयोग रकम सङ्कलनमा सहजीकरण गर्दै मातृभूमिमा विपत्तिमा परेका नेपाली नागरिकप्रति मानवीय सहयोग र ऐक्यबद्धता व्यक्त गर्नेछन्।

विश्वविद्यालयका कुलपति युन सुङ–योङले प्राकृतिक विपत्तिका कारण कठिन परिस्थितिको सामना गरिरहेका नेपाली बाढीपीडितप्रति सहानुभूति व्यक्त गर्दै विश्वविद्यालय परिवारलाई सहयोग अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभएको छ।

“अचानक आएको प्राकृतिक विपत्तिका कारण कठिन परिस्थितिको सामना गरिरहेका नेपाली बाढीपीडितहरूप्रति हामी न्यानो माया र सहानुभूति व्यक्त गर्न चाहन्छौँ। यस अभियानले विश्वविद्यालय परिवारलाई सहयोग, एकता र ऐक्यबद्धताको भावना व्यवहारमा उतार्ने अवसर प्रदान गर्नेछ भन्ने आशा लिएको छु। सानो–सानो सहयोग मिलेर ठूलो माया र सहारा बन्न सकोस् भन्ने उद्देश्यले सबैलाई सक्रिय सहभागिता र सहयोगका लागि अनुरोध गर्दछु,” कुलपति युनले भन्नुभएको छ।

नेपाल मूलकी नामसउल विश्वविद्यालयकी Associate Professor डा. सिर्जना थापाले अभियानबारे जानकारी दिँदै यस कठिन घडीमा नेपालका बाढीपीडितका लागि सहयोगको हात बढाएकोमा नामसउल विश्वविद्यालय परिवारप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ।

“यस कठिन घडीमा नेपालका बाढीपीडितहरूका लागि सहयोगको हात बढाउनुहुने नामसउल विश्वविद्यालय परिवारप्रति म हार्दिक आभार व्यक्त गर्दछु। विश्वविद्यालयले देखाएको मानवीय सहयोग र ऐक्यबद्धताले हामी नेपाली विद्यार्थी तथा प्राध्यापकहरूलाई नामसउल विश्वविद्यालय परिवारको सदस्य भएकोमा अत्यन्त गौरवान्वित बनाएको छ,” डा. थापाले भन्नुभयो।

विश्वविद्यालयका अनुसार प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागितामा सङ्कलन हुने सम्पूर्ण सहयोग रकम कोरियन रेडक्रसलाई हस्तान्तरण गरिनेछ। उक्त रकम नेपालका बाढीपीडितका लागि आपत्कालीन राहत सामग्री उपलब्ध गराउन तथा प्रभावित क्षेत्रको पुनर्निर्माणमा प्रयोग गरिनेछ।

नेपालमा प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भइरहेका बेला नामसउल विश्वविद्यालयले सञ्चालन गर्न लागेको यस मानवीय सहयोग अभियानले बाढीपीडित नेपाली नागरिकलाई राहत पुर्‍याउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्