कास्की परिवार दक्षिण कोरियाको वार्षिक साधारण सभा तथा बिदाइ कार्यक्रम सम्पन्न, कपिल अधिकारी नयाँ अध्यक्ष

0
2

दक्षिण कोरिया
कास्केली दाजुभाइ तथा दिदीबहिनीहरूको साझा सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको वार्षिक साधारण सभा तथा बिदाइ कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।

सम्पूर्ण कस्केली समुदाय, अग्रज व्यक्तित्व, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा अतिथिहरूको गरिमामय उपस्थितिमा सम्पन्न साधारण सभाले संस्थाको वार्षिक गतिविधि, प्रगति तथा आर्थिक अवस्थाबारे समीक्षा गर्दै आगामी दिनका लागि आवश्यक निर्णयहरू गरेको छ।

साधारण सभामा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन माथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको आयोजकले जनाएको छ।

सन्तोष गुरुङको राजीनामा स्वीकृत, कपिल अधिकारी नयाँ अध्यक्ष सभाको महत्वपूर्ण निर्णयका रूपमा कास्की परिवार दक्षिण कोरियाका निवर्तमान अध्यक्ष सन्तोष गुरुङले व्यक्तिगत तथा घरायसी कारण कोरियाको कर्मभूमिलाई बिट मार्दै स्थायी रूपमा नेपाल फर्किनुपर्ने भएपछि पेश गरेको राजीनामा सर्वसम्मत रूपमा स्वीकृत गरिएको छ।

राजीनामा स्वीकृतिपछि विधानअनुसार वरिष्ठ उपाध्यक्ष कपिल अधिकारीलाई कास्की परिवार दक्षिण कोरियाको अध्यक्ष पदमा सर्वसम्मत रूपमा मनोनित गरिएको छ।

नवनियुक्त अध्यक्ष कपिल अधिकारीले कार्यक्रममा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।निवर्तमान अध्यक्ष सन्तोष गुरुङलाई भावपूर्ण बिदाइ

कार्यक्रममा निवर्तमान अध्यक्ष सन्तोष गुरुङलाई उहाँको एक वर्षे कार्यकालमा संस्थाको विकास र सामाजिक गतिविधिमा पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै मायाको चिनोसहित भावपूर्ण बिदाइ गरिएको थियो।

छोटो अवधिको कार्यकाल भए पनि नैतिक, भौतिक तथा आर्थिक रूपमा संस्थालाई सहयोग गर्दै कास्की परिवारलाई थप व्यवस्थित र सक्रिय बनाउन भूमिका खेलेको भन्दै उहाँको योगदानको प्रशंसा गरिएको थियो।

नेपाल फर्किन लागेका गुरुङलाई आगामी दिनको सफलताको शुभकामनासहित कास्की परिवारका पदाधिकारी तथा सदस्यहरूले बिदाइ गरेका थिए।

विभिन्न संघ–संस्थाका प्रतिनिधिको उपस्थिति कार्यक्रममा गण्डकी प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष नर कुमार गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यस्तै, नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हर्क बिष्ट विशिष्ट अतिथि तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य, कलाकार एवं सञ्चारकर्मी बाल काशी गुरुङ विशेष अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा कास्की परिवार दक्षिण कोरियाका संरक्षक परिषद् प्रमुख तथा सदस्यहरू, वरिष्ठ सल्लाहकार, गण्डकी प्रदेशअन्तर्गतका विभिन्न जिल्ला समाजका अध्यक्ष तथा प्रतिनिधि, कोरियामा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधि, कास्की परिवारका सल्लाहकार, गाउँपालिका तथा विभागीय संयोजक, अग्रज व्यक्तित्व, निवर्तमान कार्यसमिति तथा पूर्वअध्यक्षहरू, आजीवन सदस्य, साधारण सदस्य र नवौँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

साधारण सभाबाट अध्यक्षमा कपिल अधिकारी मनोनित भएसँगै नवौँ कार्यसमितिले आगामी बाँकी कार्यकालका लागि संस्थाको नेतृत्व गर्ने जिम्मेवारी पाएको छ।

कार्यक्रममा उपस्थित वक्ताहरूले कास्की परिवार दक्षिण कोरियाले प्रवासमा रहेका कस्केलीहरूबीच आपसी भाइचारा, सहयोग, एकता र सामाजिक सम्बन्धलाई अझ मजबुत बनाउन निरन्तर भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रम सफल बनाउन कोरियाका विभिन्न स्थानबाट उपस्थित भएका सम्पूर्ण कस्केली दाजुभाइ तथा दिदीबहिनी, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति कास्की परिवार दक्षिण कोरियाले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।नवनियुक्त अध्यक्ष कपिल अधिकारी तथा नवौँ कार्यसमितिलाई बाँकी कार्यकालको सफलताको शुभकामना व्यक्त गरिएको छ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्