रोल्पा बाढीपहिरो पीडितका लागि दक्षिण कोरियाबाट ४ लाख ५२ हजार राहत सहयोग

0
17

रोल्पा नेपालमा परेको भारी वर्षासँगै थबाङ गाउँपालिका र सुनछहारी गाउँपालिकामा आएको भीषण बाढीपहिरोबाट प्रभावित तथा पीडित परिवारका लागि दक्षिण कोरियामा सञ्चालित राहत सहयोग अभियान सम्पन्न भएको छ।

बाढीपहिरोमा परी दुवै स्थानीय तहमा १९ जनाको दुःखद निधन भएको घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले अगस्ट १७ देखि २१ गतेसम्म राहत रकम संकलन अभियान सञ्चालन गरिएको थियो।

राप्ती समाज दक्षिण कोरिया र अठार मगरात खामभाषी सम्पर्क मञ्च, दक्षिण कोरियाको समन्वय तथा युवराज घर्ती मगरको संयोजकत्वमा दक्षिण कोरियामा विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील रोल्पालीहरूको सक्रियतामा अभियान सञ्चालन गरिएको हो।

अभियानमार्फत दक्षिण कोरियामा रहेका नेपालीहरूबाट रु. ४ लाख ४२ हजार ३ सय तथा मगर संसारको तर्फबाट रु. १० हजार गरी कुल रु. ४ लाख ५२ हजार ३ सय राहत रकम संकलन गरिएको जनाइएको छ।

संकलित राहत रकम बाढीपहिरोमा परी मृत्यु भएका तथा घाइते भएका परिवारलाई सम्बन्धित पालिकाका जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको रोहबरमा हस्तान्तरण गरिएको छ। राहत रकम अभियानका प्रतिनिधि रामप्रसाद रोका मगरमार्फत पीडित परिवारलाई वितरण गरिएको हो।

अभियानका आयोजकहरूले विपद्को कठिन परिस्थितिमा पीडित परिवारलाई सहयोग पुर्‍याउन हातेमालो गर्ने दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली तथा सहयोगी मनहरूप्रति आभार व्यक्त गरेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्