नेपालमा हालै आएको विनाशकारी बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि पर्वत समाज अमेरिकाले १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
राष्ट्रिय विपत्तिको यस दुःखद घडीमा देशका विभिन्न स्थानमा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै संस्थाले पीडित नेपालीहरूको साथमा रहने प्रतिबद्धता जनाएको हो।
विपत्तिका कारण आफ्ना आफन्त गुमाएका परिवार, घाइते भएका नागरिक तथा घरबार र सम्पत्ति गुमाएर कठिन परिस्थितिमा रहेका सम्पूर्ण नेपालीप्रति पर्वत समाज अमेरिका परिवारले गहिरो समवेदना तथा ऐक्यबद्धता व्यक्त गरेको छ।
संस्थाले गरेको उक्त सहयोग केवल आर्थिक सहयोग मात्र नभई विपत्तिमा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र एकताको प्रतीक भएको जनाएको छ। विदेशमा रहे पनि मातृभूमिमा आइपरेको दुःख र संकटलाई आफ्नो दुःख सम्झँदै सक्दो सहयोग गर्ने प्रतिबद्धता संस्थाले व्यक्त गरेको छ।
तीज विशेष सांस्कृतिक कार्यक्रम रद्द
यसैबीच, राष्ट्रिय शोक तथा विपत्तिको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सेप्टेम्बर ५, शनिबारका लागि तय गरिएको तीज विशेष सांस्कृतिक कार्यक्रम रद्द गर्ने निर्णय पनि गरिएको छ।
विपत्तिबाट प्रभावित नेपाली परिवारहरू पीडामा रहेका बेला उत्सव तथा मनोरञ्जनका कार्यक्रम सञ्चालन गर्नु उपयुक्त नहुने निष्कर्षसहित संस्थाले कार्यक्रम रद्द गरेको जनाएको छ।
संस्थाका अनुसार, उत्सवभन्दा ठूलो कुरा मानव जीवन, दुःखमा साथ र संकटमा सहयोग भएकाले यस कठिन समयमा मानवीय सहयोगलाई प्राथमिकता दिइएको हो।
प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्ण नेपालीप्रति पर्वत समाज अमेरिकाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा प्रभावित नागरिकहरूको शीघ्र स्वास्थ्यलाभ, सुरक्षा तथा आवश्यक राहत र पुनःस्थापनाको कामना गरिएको छ।
संस्थाले सरकार, विभिन्न संघ–संस्था, प्रवासी नेपाली समुदाय तथा सम्पूर्ण नेपालीलाई यस संकटको घडीमा एकजुट भएर प्रभावित परिवार तथा समुदायको साथमा उभिन समेत आग्रह गरेको छ।
पर्वत समाज अमेरिका विगतदेखि नै सामाजिक सेवा, मानवीय सहयोग तथा नेपाली समुदायको हितमा सक्रिय रहँदै आएको संस्था हो। आगामी दिनमा पनि नेपाल तथा नेपाली समुदायलाई आवश्यक पर्दा आफ्नो क्षमता र स्रोतअनुसार सहयोग र सहकार्य जारी राख्ने संस्थाले प्रतिबद्धता जनाएको छ।
कार्यक्रम रद्द गर्ने निर्णयबाट सहभागी, कलाकार, शुभेच्छुक तथा सहयोगीहरूमा पर्न गएको असुविधाप्रति संस्थाले क्षमायाचना गर्दै विपत्तिको यस संवेदनशील समयमा सबैबाट प्राप्त समझदारी, सद्भाव र ऐक्यबद्धताप्रति आभार व्यक्त गरेको छ।
“आज हामी जहाँ भए पनि, दुःखमा रहेका नेपालीका लागि हाम्रो मन र साथ नेपालमै छ,” पर्वत समाज अमेरिका परिवारले जनाएको छ।






