नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि दक्षिण कोरियास्थित नोन्सान नेपाली एकता समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख दक्षिण कोरियन वन सहयोग गरेको छ। उक्त रकम नेपाली रुपैयाँमा करिब ५ लाख ४८ हजार ७४६ रुपैयाँ बराबर रहेको जनाइएको छ।
दक्षिण कोरियामा रहेका नेपाली संघ–संस्थाहरूबाट प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने क्रम जारी रहँदा, हालसम्मकै ठूलो संस्थागत सहयोगका रूपमा नोन्सान नेपाली एकता समाजको यो योगदान आएको बताइएको छ।
समाजका अनुसार उक्त रकम आर्थिक संयोजक तारा बहादुर जर्गाको नामबाट प्रधानमन्त्री राहत कोषमा पठाइएको हो।
समाजले यो सहयोग कुनै एक व्यक्तिको व्यक्तिगत रकम नभएको स्पष्ट पार्दै नोन्सान तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले विभिन्न कार्यक्रममार्फत योगदान गरी समाजको कोषमा जम्मा गरेको रकमबाट सहयोग गरिएको जनाएको छ।
उक्त सहयोगको सम्पूर्ण श्रेय नोन्सान तथा आसपास क्षेत्रमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई दिइएको समाजले जनाएको छ।
विपद्को यस कठिन घडीमा बाढीपीडित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै समाजले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न हार्दिक अपिलसमेत गरेको छ।






