स्याङ्जा समाज दक्षिण कोरियाको अध्यक्षमा माधव अर्याल निर्वाचित

0
20

स्याङ्जा समाज दक्षिण कोरियाको १४औँ अधिवेशनले गल्याङका माधव अर्याललाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको छ। दक्षिण कोरियामा रहेका स्याङ्जालीहरूको एकता, आपसी सद्भाव, भाइचारा र सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले गठन भएको स्याङ्जा समाजको नयाँ नेतृत्व चयन गरिएको हो।

अगस्ट २२ गते दक्षिण कोरियाको राजधानी सियोलमा भव्य रात्रिकालीन सांस्कृतिक कार्यक्रमसहित सम्पन्न अधिवेशनले अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। अधिवेशनमा दक्षिण कोरियाका विभिन्न क्षेत्रमा रहेका स्याङ्जालीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा टोप थापा, उपाध्यक्षमा अमृता केसी र अर्जुन अर्याल, महासचिवमा कृष्णप्रसाद न्यौपाने, सचिवमा कृष्ण सागर गुरुङ र नवीन कँडेल, कोषाध्यक्षमा सन्तोष महतर, सह–कोषाध्यक्षमा रोशन गोतामे चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा निश्चल शर्मा, हरिप्रसाद पाण्डे र अनिता विश्वकर्मा रहेका छन्।

अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै दक्षिण कोरियामा रहेका स्याङ्जालीहरूबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै सामाजिक, सांस्कृतिक तथा मानवीय क्षेत्रमा समाजको भूमिकालाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

नवनिर्वाचित अध्यक्ष माधव अर्यालले स्याङ्जालीहरूको साझा भावना, एकता र सहकार्यलाई प्राथमिकतामा राख्दै समाजलाई अझ व्यवस्थित र गतिशील रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले विदेशमा रहे पनि आफ्नो जन्मभूमि स्याङ्जाप्रतिको माया र जिम्मेवारीलाई निरन्तरता दिँदै सामाजिक कार्यमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए।

अधिवेशनसँगै आयोजित भव्य रात्रिकालीन कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम तथा शुभकामना आदान–प्रदानसमेत गरिएको थियो। कार्यक्रममा सहभागीहरूले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै स्याङ्जा समाजलाई दक्षिण कोरियामा अझ प्रभावशाली सामाजिक संस्थाका रूपमा स्थापित गर्न सामूहिक सहकार्य आवश्यक रहेको बताएका थिए।

नयाँ कार्यसमितिको नेतृत्वमा स्याङ्जा समाज दक्षिण कोरियाले स्याङ्जाली समुदायको हित, आपसी सहयोग, सामाजिक एकता र सांस्कृतिक पहिचान संरक्षणमा थप सक्रिय भूमिका खेल्ने विश्वास गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्