कोरियामा सम्पन्न लोकदोहोरीको महाभिडन्तमा अनु अधिकारी प्रथम, कृष्ण न्यौपाने द्वितीय र बिपना अधिकारी तृतीय

0
28

दक्षिण कोरियामा पहिलो पटक विकट क्षेत्रका शैक्षिक संस्थाहरूलाई शैक्षिक सामग्री सहयोग गर्ने उद्देश्यसहित आयोजना गरिएको ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ भव्य रूपमा सम्पन्न भएको छ।

नेपाल सम्पर्क समितिको सहजीकरण, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखा र गण्डकी प्रदेश समाज दक्षिण कोरियाको समन्वय तथा नेपाल गोरखा परिवार दक्षिण कोरियाको आयोजनामा अगस्ट १६ तारिख फेन्थेकस्थित निरमाया रोधीं क्लबको सभाहलमा प्रतियोगिता सम्पन्न भएको हो।
कोरियाब्यापी खुल्ला लोकदोहोरी प्रतियोगितामा २३ टिमबीच कडा प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै अनु अधिकारी प्रथम भएकी छन्। अधिकारीले उपाधिसँगै ८ लाख वन पुरस्कार हात पारेकी छन्। प्रतियोगितामा कृष्ण प्रसाद न्यौपाने द्वितीय हुँदै ४ लाख वन तथा बिपना अधिकारी तृतीय हुँदै ३ लाख वन पुरस्कार प्राप्त गरेकी छन्। त्यस्तै गीता चनारा ले सान्त्वना स्थान सहित मायाको चिनो १ लाख ५० हजार वन हासिल गरेकी छन्।

प्रतियोगिताले दक्षिण कोरियामा रहेका नेपाली कलाकारहरूलाई आफ्नो कला र प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै नेपाली लोकदोहोरी संस्कृतिको संरक्षण र प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान दिएको आयोजकले जनाएको छ। प्रतियोगितालाई सफल बनाउन निर्णायक संयोजक चर्चित प्रवासी गायक सूर्य खड्का तथा निर्णायक सदस्यहरू मिलन थापा, रेबिका लामिछाने, खिम छन्त्याल र कोपिला गुरुङ लगायतले भूमिका निर्वाह गरेका थिए। त्यसैगरी वाद्यवादनतर्फ बिकाश नेपाली, दिलीप गुरुङ, सुधीर बी.सी., रबीत मगर, समीर नेपाली र हिरा छन्त्याल लगायतको योगदान रहेको थियो।
आयोजक नेपाल गोरखा परिवार दक्षिण कोरियाले प्रतियोगितामा सहभागी सम्पूर्ण कलाकार, निर्णायक, वाद्यवादक, सहयोगी संस्था तथा उपस्थित दर्शकप्रति आभार व्यक्त गरेको छ। प्रतियोगिताबाट प्राप्त सहयोगलाई नेपालका विकट क्षेत्रका शैक्षिक संस्थाहरूमा शैक्षिक सामग्री सहयोगका लागि प्रयोग गरिने जनाइएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्