राखेपको रिक्त सदस्य पदमा ललिता नाथ र धनीराम चौधरी मनोनीत

0
22

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को रिक्त सदस्य पदमा दुई जनालाई मनोनीत गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार मन्त्रीस्तरीय निर्णयबाट रुकुम पश्चिमकी ललिता नाथ र दाङका धनीराम चौधरीलाई राखेप सदस्यमा मनोनीत गरिएको हो।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३ को उपदफा (२) को खण्ड (ट) बमोजिम नाथ र चौधरीलाई सदस्य पदमा मनोनीत गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार दुवै जनाको कार्यकाल चार वर्ष रहनेछ।

मन्त्रालयमा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नवनियुक्त सदस्यद्वय नाथ र चौधरीलाई औपचारिक रूपमा मनोनयन पत्र प्रदान गरेका थिए।

मन्त्रालयले नेपाली खेलकुद क्षेत्रको विकास, विस्तार तथा गरिमा अभिवृद्धिमा नवनियुक्त सदस्यहरूले आफ्नो व्यावसायिक दक्षता, अनुभव र नेतृत्वदायी भूमिकामार्फत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

भलिबलमा सक्रिय ललिता नाथ

राखेप सदस्यमा मनोनीत ललिता नाथ नेपाली महिला भलिबलमा परिचित नाम हुन्। उनी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबकी पूर्व कप्तानसमेत हुन्। खेलाडीका रूपमा लामो समय भलिबलमा सक्रिय रहेकी नाथ पछिल्लो समय प्रशिक्षकको भूमिकामा समेत अघि बढिरहेकी छन्।

केही साताअघि मात्रै उनले भलिबल प्रशिक्षकको लेभल–वान कोर्स पूरा गरेकी थिइन्। उनी न्यु डायमण्ड तथा एभरेस्ट महिला भलिबल लिगको विजेता टोली कर्णाली यशविजकी सहायक प्रशिक्षकका रूपमा समेत आबद्ध छिन्।

खेलाडी हुँदै प्रशिक्षकसम्मको अनुभव बटुलेकी नाथको राखेपमा भएको नियुक्तिलाई महिला भलिबल तथा समग्र नेपाली खेलकुद क्षेत्रमा उनको अनुभव उपयोग गर्ने अवसरका रूपमा हेरिएको छ।

एथलेटिक्सका अनुभवी धनीराम चौधरी

त्यस्तै, दाङका धनीराम चौधरी एथलेटिक्स क्षेत्रका अनुभवी व्यक्तित्व हुन्। पूर्व खेलाडीसमेत रहेका चौधरीले राष्ट्रिय खेलकुद परिषद्मा एथलेटिक्स प्रशिक्षकका रूपमा लामो समय जिम्मेवारी निर्वाह गरिसकेका छन्।

खेलाडी तथा प्रशिक्षकका रूपमा प्राप्त अनुभवलाई अब उनले राखेप सदस्यको जिम्मेवारीमा उपयोग गर्ने अपेक्षा गरिएको छ। विशेषगरी एथलेटिक्सलगायत नेपाली खेलकुदको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा खेल क्षेत्रमा आवश्यक सुधारका विषयमा उनको अनुभव उपयोगी हुने विश्वास गरिएको छ।

नाथ र चौधरीको नियुक्तिसँगै राखेपमा खेलकुद क्षेत्रमै लामो अनुभव भएका व्यक्तिहरूको प्रतिनिधित्व थपिएको छ। उनीहरूले आगामी चार वर्षको कार्यकालमा नेपाली खेलकुदको विकास र खेलाडीको हितमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्