दक्षिण कोरिया – दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेली दाजुभाइ तथा दिदीबहिनीबीच आपसी एकता, सद्भाव र भाइचारालाई अझ सुदृढ बनाउने उद्देश्यका साथ सुदूरपश्चिम समाज दक्षिण कोरियाको समन्वयमा सुदूरपश्चिम समाज, बुसानले ‘बृहत् भेटघाट तथा बनभोज कार्यक्रम–२०२६’ आयोजना गर्ने भएको छ।
सुदूरपश्चिम समाज, बुसानका अध्यक्ष केशव जोशीका अनुसार उक्त कार्यक्रम आगामी अगस्ट १५ र १६ गते आयोजना गरिनेछ। कार्यक्रमलाई सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न सुदूरपश्चिम समाज, बुसानका निवर्तमान अध्यक्ष देवराज बडुलाई कार्यक्रम संयोजक तथा सुदूरपश्चिम समाज, दक्षिण कोरियाका पूर्व वरिष्ठ उपाध्यक्ष डीआर पनेरुलाई उपसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ।
आयोजकका अनुसार कार्यक्रममा सुदूरपश्चिमका मौलिक तथा विशेष परिकारको स्वादसँगै परम्परागत देउडा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिनेछ, जसले सहभागीहरूलाई आफ्नो संस्कृति र पहिचानसँग अझ नजिक बनाउने विश्वास गरिएको छ।
कार्यक्रमस्थल, समय तथा अन्य आवश्यक विवरण केही दिनभित्र सार्वजनिक गरिने जानकारी अध्यक्ष केशव जोशीले दिनुभएको छ। दक्षिण कोरियामा रहेका सम्पूर्ण सुदूरपश्चिमेली समुदायलाई कार्यक्रममा सहभागी भई आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउन आयोजकले अनुरोध गरेको छ।






