दक्षिण कोरियामा रहेका नेपालीहरूको साझा संस्था कालीगण्डकी समाज, दक्षिण कोरिया ले आगामी जुलाई ११ र १२, २०२६ मा ‘रमाइलो वनभोज कार्यक्रम–२०२६’ आयोजना गर्ने भएको छ। कार्यक्रममा स्वादिष्ट नेपाली परिकारसँगै विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति समावेश गरिने आयोजकले जनाएको छ।
समाजका अध्यक्ष कृष्ण प्रसाद न्यौपानेका अनुसार कार्यक्रममा स्याङ्जाली रोइला, सांगीतिक कार्यक्रम, नृत्य प्रस्तुति लगायत विभिन्न मनोरञ्जनात्मक गतिविधि रहनेछन्। साथै दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई सफल बनाइदिन उहाँले हार्दिक आग्रह गर्नुभएको छ।
वनभोजका लागि पुरुष, महिला, जोडी तथा विद्यार्थीका लागि छुट्टाछुट्टै सहभागिता शुल्क निर्धारण गरिएको छ। सहभागीहरूको सहजताका लागि सुवन स्टेशनबाट बसको व्यवस्था समेत मिलाइएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो।
कार्यक्रम ग्येङ्गी–दो, योङइन–सी स्थित एको ग्रिन टाउनमा सञ्चालन हुनेछ। आयोजकले समयमै नाम दर्ता गरी आफ्नो सहभागिता सुनिश्चित गर्न सम्पूर्ण इच्छुक नेपालीहरूलाई अनुरोध गरेको छ।






