दक्षिण कोरिया। नेपाली सम्पर्क समिति (NCC) अन्तर्गत आगामी छुसक पर्वका अवसरमा आयोजना गरिने सांस्कृतिक कार्यक्रमहरूको जिम्मेवारी बाँडफाँट गरिएको छ।
मिति २०२६ जुन २१ (आइतबार) मा दोङ्देमुनस्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको सभाहलमा सम्पन्न सहजीकरण कार्यक्रममा संस्थाका संरक्षक, सल्लाहकार, प्रदेश अध्यक्ष, जिल्ला समितिका अध्यक्ष, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, बुद्धिजीवी तथा सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा आगामी सेप्टेम्बर २४ देखि २७ तारिखसम्म नेपाली सम्पर्क समिति अन्तर्गत विभिन्न संघ–संस्थाले सञ्चालन गर्ने सांस्कृतिक कार्यक्रमहरूको जिम्मेवारी विभाजन गरिएको हो।
छुसकको दोस्रो दिन सेप्टेम्बर २५ तारिखमा गण्डकी प्रदेश समाज अन्तर्गत नवलपुर समाजले ‘नवलपुर सांगीतिक सौगात–०१’ आयोजना गर्ने भएको छ भने तेस्रो दिन सेप्टेम्बर २६ तारिखमा पूर्वी नेपाल समाज अन्तर्गत किरात याक्थुङ चुम्लुङले ‘सिरिजंघा सांगीतिक सौगात–०५’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ।
कार्यक्रममा सम्बोधन गर्दै नेपाली सम्पर्क समिति (NCC) का अध्यक्ष हर्क बिष्ट ले छुसक पर्व नेपाली समुदायको साझा पर्व भएकाले सबै संघ–संस्थाबीच समन्वय, सहकार्य र एकताको भावना आवश्यक रहेको बताउनुभयो। उहाँले कार्यक्रमको सफलताका लागि नेपाली सम्पर्क समितिको तर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गर्दै सम्बन्धित आयोजक संस्थाहरूलाई तयारीलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन आग्रह गर्नुभयो।
त्यसैगरी, कार्यक्रम आयोजक संस्थाका अध्यक्षहरूले कार्यक्रम आयोजना गर्नुको उद्देश्य, तयारीको अवस्था तथा आगामी कार्ययोजनाबारे आफ्नो धारणा राख्नुभएको थियो।






