घाइते पवित्रा जीसीको उपचारार्थ संकलित ६५ हजार रुपैयाँ परिवारलाई हस्तान्तरण

0
2

पर्वत समाज दक्षिण कोरिया र मल्लाज–कोरिया सम्पर्क मञ्चको संयुक्त सहकार्यमा सुपादेउराली दर्शन गरेर फर्कने क्रममा अर्घाखाँचीमा भएको बस दुर्घटनामा परी सख्त घाइते भएकी पर्वत जिल्ला, कुश्मा नगरपालिका–४ निवासी पवित्रा जीसीको उपचार सहयोगार्थ संकलित रकम हस्तान्तरण गरिएको छ।

वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेका पर्वतवासीहरूले संकलन गरेको रु. ६५ हजार रकम कुश्मा नगरपालिका–४ का वडा सदस्य सन्तोष कार्कीको विशेष उपस्थितिमा पीडित परिवारलाई हस्तान्तरण गरिएको हो।

कार्यक्रमको सहजीकरण पर्वत समाज दक्षिण कोरियाका पूर्व सल्लाहकार तथा कोरिया रिटर्नी जनक क्षेत्रीले गर्नुभएको थियो। कार्यक्रममा मल्लाजबाट नवीन जीसी, पूर्ण बरुवाल तथा कुश्माबाट अर्जुन पौडेल, निर्जन, दीपक रखाल, पर्वत समाज दक्षिण कोरियाका महासचिव जीवन पौडेल र कोरिया रिटर्नी कृष्ण जीसी लगायतको उपस्थिति रहेको थियो।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै वडा सदस्य सन्तोष कार्कीले रोजगारीका लागि कोरिया पुगेर पनि आफ्नो जन्मभूमि र समाजप्रति जिम्मेवार बन्दै मानवीय सेवामा योगदान पुर्‍याएकोमा पर्वत समाज दक्षिण कोरिया तथा मल्लाज–कोरिया सम्पर्क मञ्चप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यमा निरन्तर सहयोग र सहकार्यको अपेक्षा रहेको बताउनुभयो।

दुर्घटनामा घाइते पवित्रा जीसीको स्वास्थ्य लाभको कामना गर्दै सहभागीहरूले आवश्यक पर्दा थप सहयोगका लागि समेत प्रतिबद्धता व्यक्त गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्