दक्षिण कोरियामा क्रियाशील नेपाली फुटबल क्लबहरूको साझा संस्था नेपाल फुटबल महासंघ दक्षिण कोरियाको मातहतमा ह्वासाङ नेपाली फुटबल क्लबद्वारा आयोजित दोस्रो ह्वासाङ नेपाली पुरुष तथा महिला फुटसल कप 2026 अप्रिल 19 आइतबार सफलतापूर्वक सम्पन्न भएको छ।
कोरियाको ख्याङ्गी प्रान्त अन्तर्गत छनानस्थित फुटसल मैदानमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ आस्याङ फुटबल क्लबले उपाधि जित्न सफल भयो। “फुटबल प्रवासमा एकता, मनोरञ्जन र स्वास्थ्य जीवनका लागि आवश्यकता” भन्ने मूल नारासहित आयोजना गरिएको प्रतियोगितामा पुरुषतर्फ 44 र महिलातर्फ 3 टोलीको सहभागिता रहेको थियो।
पुरुषतर्फको प्रतिस्पर्धामा ‘ए’ पोलबाट ब्लु लायन फुटबल क्लबलाई हराउँदै आस्याङ फुटबल क्लब फाइनल पुगेको थियो भने ‘बी’ पोलबाट मुनाल क्लबलाई पराजित गर्दै धनकुटा फुटबल क्लबले फाइनलमा स्थान बनाएको थियो। फाइनल खेलमा आस्याङ फुटबल क्लबले धनकुटा फुटबल क्लबलाई 2–0 गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो।
विजेता आस्याङ फुटबल क्लबले 35 लाख वान नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता धनकुटा फुटबल क्लबले 20 लाख वानसहित ट्रफी, पदक र प्रमाणपत्र हात पार्यो। सेमिफाइनल पुग्ने ब्लु लायन र मुनाल फुटबल क्लबले जनही 4 लाख वान प्राप्त गरेका थिए।
व्यक्तिगततर्फ आस्याङका लुकास गोले उत्कृष्ट खेलाडी घोषित भए। उत्कृष्ट गोलकिपर सुन्देश गुरुङ र उच्च गोलकर्ता मोक्पो फुटबल क्लबका अभिनास कार्की घोषित भए। उनीहरूलाई जनही 1 लाख वानसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।
महिलातर्फ सुवन महिला फुटबल क्लबले पेनाल्टी सुटआउटमा सौल महिला फुटबल क्लबलाई 2–1 ले पराजित गर्दै उपाधि जित्यो। विजेता सुवनले 3 लाख वान र उपविजेता सौलले 2 लाख वान प्राप्त गरे। तेस्रो स्थानमा रहेको आस्याङ महिला फुटबल क्लबलाई 1 लाख वान सान्त्वना पुरस्कार प्रदान गरिएको थियो।
महिलातर्फ उत्कृष्ट खेलाडी रिया वानी, उत्कृष्ट गोलकिपर ऋतिका श्रेष्ठ र उच्च गोलकर्ता पेमा योङहाङ लिम्बु घोषित भए। उनीहरूलाई जनही 50 हजार वान पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा नेपाली समुदाय तथा खेल क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। समापन समारोहमा एनआरएनए कोरिया, फुटबल महासंघका पदाधिकारी, साहित्यकार तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
प्रतियोगिता सफल बनाउन विभिन्न प्रायोजक, सहयोगी संस्था, स्वयंसेवक, मिडियाकर्मी तथा खेलप्रेमीहरूलाई आयोजक समितिका संयोजक मिन आले मगरले धन्यवाद व्यक्त गरेका थिए।






