सिओल — दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच सुदूरपश्चिमेली संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले “शुभकामना आदानप्रदान तथा देउडा कार्यक्रम” आयोजना हुने भएको छ।
सुदूरपश्चिम समाज, दक्षिण कोरियाको आयोजनामा हुने उक्त कार्यक्रमले नेपाली नयाँ वर्ष २०८३ को स्वागतसँगै सुदूरपश्चिमको मौलिक चाड–विसु पर्वलाई विशेष रूपमा मनाउने लक्ष्य राखेको छ।
आयोजकका अनुसार कार्यक्रम आगामी अप्रिल ११, २०२६ (शनिबार) बेलुकी ६ बजे सिओलस्थित नेपाल थाई स्कूलको सभा हल (डोंडेमुन, गेट नं. २ नजिक) मा सञ्चालन हुनेछ।
कार्यक्रममा चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ। गायक तथा सर्जक कमल बिसी थापा, चर्चित देउडा गायिका गौरी भट्ट, गायक तथा मोडल किस्मत साउद तथा लोक तथा देउडा गायक नरेश रावलले सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ।
साथै, देउडा नृत्यमार्फत सुदूरपश्चिमेली संस्कृति झल्काउने विशेष प्रस्तुति पनि रहने आयोजकले जनाएको छ। कार्यक्रममा दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ।
आयोजक समितिका पदाधिकारीहरू—अध्यक्ष दीपेन्द्र रोकाया, कार्यक्रम संयोजक जनक विष्ट तथा महासचिव सुरेश गिरीले कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन सबैको साथ र सहभागिता अपेक्षा गरेका छन्।
कार्यक्रमले प्रवासमा रहेका नेपालीबीच एकता, सांस्कृतिक पहिचान र आपसी सद्भाव मजबुत बनाउने विश्वास लिइएको छ I






