पर्वत जिल्लामा सम्पन्न खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता रोमाञ्चक प्रतिस्पर्धाका बीच सफलतापूर्वक सम्पन्न भएको छ। मोदीकाली ब्याडमिन्टन संघ कुश्माको आयोजनामा तथा जिल्ला खेलकुद विकास समिति पर्वतको समन्वयमा आयोजित उक्त प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट खेल प्रदर्शन देखिएको थियो।
खुला पुरुष डबल्सतर्फ पविन लिङथेप र निश्चल खत्रीको जोडीले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि आफ्नो नाममा पार्न सफल भयो। फाइनलमा उनीहरूले अक्ष क्षेत्री र विवेक न्यौपानेको जोडीलाई २–१ सेटले पराजित गरे। पहिलो सेट २१–१२ ले गुमाए पनि पविन–निश्चलको जोडीले शानदार पुनरागमन गर्दै दोस्रो सेट २४–२२ ले जित्यो र निर्णायक तेस्रो सेट २२–२० ले आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो। विजेता जोडीले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो।
प्रतियोगितामा जम्मा ८ टोलीको सहभागिता रहेको प्रचारप्रसार संयोजक सुनिल थापाले जानकारी दिएका छन्।
यसैगरी, गण्डकी प्रदेशस्तरीय ‘बी’ लेभल पुरुष डबल्सतर्फ लक्ष्मणकुमार श्रेष्ठ र अक्ष क्षेत्रीको जोडी च्याम्पियन बने। उनीहरूले फाइनलमा दिनेश श्रेष्ठ र विमल कुमालको जोडीलाई सोझो सेटमा २१–१८ र २१–१५ ले हराए।
खुला राष्ट्रिय मिक्स डबल्सतर्फ अक्ष क्षेत्री र तीलमाया रानाको जोडीले उपाधि जित्यो। उनीहरूले विशाल खड्का र दिलिशा रानाको जोडीलाई १६–२१, २२–२० र २१–१६ ले पराजित गर्दै रोमाञ्चक जित हात पारे।
त्यस्तै, ४५ वर्षमाथिको राष्ट्रिय भेट्रान्स पुरुष डबल्समा शम्भु कुमार श्रेष्ठ र विशाल हिराचनको जोडी विजेता बन्यो। उनीहरूले अमृत राना र देव गुरुङको जोडीलाई २१–१५, २०–२२ र २१–८ ले हराए।
धवलागिरि स्तरीय ‘सी’ लेभल पुरुष डबल्सतर्फ कृष्ण हमाल र राजेन्द्र हमालको जोडी च्याम्पियन बने। फाइनलमा उनीहरूले कपिर मगर र कुमार पुनको जोडीलाई पराजित गरे।
प्रतियोगितामा स्याङ्जाका विमल कुमाल ‘उदयमान खेलाडी’ घोषित भए। साथै सहभागी खेलाडीहरूको ५० हजार रुपैयाँ बराबरको खेल बीमा गरिएको थियो।
घाइते राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रियान्शु सिंह क्षेत्रीको उपचार सहयोगार्थ दर्ता शुल्कबाट संकलित रकमको १० प्रतिशत सहयोग प्रदान गरिने जानकारी जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष जंगबहादुर पुन (बुद्ध) ले दिएका छन्।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यलगायतले विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए।






