प्रवासी भूमि दक्षिण कोरियाको छुङछङबुक्दो प्रान्तको जेछनमा जेछन नेपाली समाज र जेछन नेपाली फुटबल क्लबको संयुक्त आयोजनामा सम्पन्न काष्ठमण्डप कप फुटसल प्रतियोगिता २०२६ को उपाधि तेह्रथुम फुटबल क्लबले जित्न सफल भएको छ।
“प्रवासी भूमिमा नेपाली फुटबलप्रेमीहरूको एकता र विकासको आवश्यकता” भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त प्रतियोगितामा आयोजकसहित ४२ वटा टिमहरूको सहभागिता रहेको थियो।
“ए” पोलबाट फाजु फुटबल क्लबलाई पराजित गर्दै तेह्रथुम फुटबल क्लब फाइनलमा प्रवेश गरेको थियो भने “बि” पोलबाट हापतोक फुटबल क्लबलाई हराउँदै मुनाल फुटबल क्लबले फाइनल यात्रा तय गरेको थियो।
फाइनल खेलमा रेफ्रीको अन्तिम सिटीसँगै तेह्रथुम फुटबल क्लबले मुनाल फुटबल क्लबलाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै उपाधि आफ्नो नाममा सुरक्षित गरेको हो।
विजेता तेह्रथुम फुटबल क्लबले नगद रु ४१,४१,१४१ (लाख वान) सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता मुनाल फुटबल क्लबले नगद रु २१,२१,१२१ (लाख वान) सहित ट्रफी, मेडल र प्रमाणपत्रमा सीमित रहनुपर्यो।
त्यस्तै, सेमिफाइनलिष्ट फाजु फुटबल क्लब र हापतोक फुटबल क्लबले जनही नगद रु ४,४४,४४४ (लाख वान) प्राप्त गरेका थिए।
व्यक्तिगत विधातर्फ मुनाल फुटबल क्लबका मोहन अर्याल सर्वोत्कृष्ट खेलाडी घोषित भई नगद रु १,५१,१५१ (लाख वान) सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। उत्कृष्ट गोलकिपर तेह्रथुम फुटबल क्लबका अमन कार्की घोषित भए भने उच्च गोलकर्ता तेह्रथुम फुटबल क्लबकै विजय बस्नेत बने। उनीहरू दुवैले जनही नगद रु १,११,१११ (लाख वान) सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।
समापन समारोहमा नेपाल फुटबल महासंघ दक्षिण कोरियाका अध्यक्ष हेमन्त गुरुङ, संस्थापक अध्यक्ष तथा संरक्षक ब्रो तमु, महिला फुटबल परिवारकी संयोजक तथा महासंघकी वर्तमान महिला उपाध्यक्ष डा. कमला ओली साउद, आयोजक जेछन नेपाली फुटबल क्लबका संस्थापक पशुपति गुरुङ, सल्लाहकार परि गुरुङ, दिर्ज काङवा लिम्बु, बिधान राई, मिन आले लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका मुख्य प्रायोजक Jeonbuk Bank र नमस्ते क्याफे सुवन रहेका थिए भने रेमिट पार्टनर E9 Pay र सहकार्यमा आशियान फुड मार्ट छनान रहेको थियो। मिडिया साझेदारका रूपमा विशाल आवाज मिडिया, हाम्रो कान्तिपुर डटकम, एनके न्युज केन्द्रबिन्दु र फोनिज न्युज डटकम रहेका थिए भने फोटोग्राफी तथा भिडियोग्राफी Frames by Ranjit ले सम्हालेको थियो।
कार्यक्रमका अवसरमा नेपाली फुटबलको विकासमा योगदान पुर्याउने व्यक्तित्वहरू—संस्थापक अध्यक्ष तथा संरक्षक ब्रो तमु, अध्यक्ष हेमन्त गुरुङ, डा. कमला ओली साउद, पशुपति गुरुङ तथा अग्रज खेलाडी रमेश गुरुङ लगायतलाई दोसल्ला र मायाको चिनोसहित सम्मान गरिएको थियो।
अत्यन्तै व्यवस्थित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न उक्त प्रतियोगिता सफल बनाउन अहोरात्र खटिने स्वयंसेवकहरू, खेलाडीहरू, क्लब प्रतिनिधिहरू, दर्शक तथा सहयोगी दाताहरूप्रति आयोजक समितिका संयोजक राज थापा श्रेष्ठले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो।






