काष्ठमण्डप फुटसल कप: अन्तिम तयारी पूरा, मार्च २२ मा प्रतिस्पर्धा हुँदै

0
26

दक्षिण कोरियाको छुङछङबुक्दो प्रान्तस्थित जेछन क्षेत्रमा आयोजना हुन लागेको काष्ठमण्डप फुटसल कप प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। जेछन नेपाली समाज र जेछन फुटबल क्लबको संयुक्त आयोजनामा हुन लागेको उक्त प्रतियोगिता यही मार्च २२ तारिख आइतबार आयोजना गरिनेछ।

“प्रवासी भूमिमा नेपाली फुटबल प्रेमीहरूको एकता र विकासको आवश्यकता” भन्ने मूल नाराका साथ सञ्चालन हुने प्रतियोगिता मेट्रो लाइन नम्बर १ अन्तर्गत छनान–आसान स्टेशन नजिकै रहेको फुटसल मैदानमा हुने तय गरिएको छ।

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको मातहतमा सञ्चालन हुने यस प्रतियोगितामा आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगितामा प्रथम हुने टिमले ४१,४१,१४१ वान नगद पुरस्कार प्राप्त गर्नेछ भने द्वितीय हुने टिमलाई २१,२१,१२१ वान प्रदान गरिनेछ। त्यस्तै, सेमीफाइनलमा पुग्ने दुवै टिमलाई जनही ४,४४,४४४ वान पुरस्कार दिइनेछ।

व्यक्तिगत विधातर्फ पनि उत्कृष्ट खेलाडीलाई १,५१,१११ वान, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई जनही १,११,१११ वान नगदसहित ट्रफी प्रदान गरिनेछ।

आयोजकसहित कुल ४१ वटा टिमको सहभागिता रहने प्रतियोगितामा छनबुक बैंक (Jeonbuk Bank) र नमस्ते क्याफे, सुवनले सहयोगी भूमिका निर्वाह गरेका छन्।

प्रतियोगितालाई सफल बनाउन आयोजकले सम्पूर्ण खेलाडी तथा खेलप्रेमी महानुभावहरूलाई फुटसल मैदानमा उपस्थित भई कार्यक्रमलाई भव्य बनाइदिन हार्दिक आह्वान गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्