नेपालको जात्रा सम्झँदै न्यु ओरलिन्समा मार्दी ग्रा हेर्दा — मोहन कार्की

0
38

संयोगवश म फेब्रुअरी महिनामा अमेरिकाको लुजियाना राज्यस्थित न्यु ओरलिन्समा छु। यहाँ विगत एक महिनादेखि “मार्दी ग्रा” नामको रंगीन पर्व धूमधामसँग चलिरहेको छ। यो विश्वकै सबैभन्दा प्रसिद्ध सडक परेड पर्वहरूमध्ये एक मानिन्छ। प्रायः फेब्रुअरी–मार्चतिर पर्ने यस पर्वमा बैजनी (न्याय), हरियो (विश्वास) र सुनौलो (शक्ति) रङ मिसिएका पोसाकमा सजिएका मानिसहरूको भीड सडकका दुबै किनारमा देखिन्छ।

शहरका विभिन्न संघ–संस्था, क्लब, विद्यालय, अभियानकर्मी र सरकारी निकायहरूको सहभागिता र प्रायोजनमा सजाइएका विशाल रथ (floats) हरूमा कलाकारहरू प्रस्तुत हुँदै भव्य परेड निकालिन्छ। निश्चित शुल्क तिरेर रथमा सहभागी हुने अवसर पनि दिइन्छ। संगीत र नृत्य टोलीहरूको प्रस्तुति, ज्याज र ब्रास ब्यान्डको धुनले सहरलाई उत्सवमय बनाइरहेको हुन्छ।

रथमा सवारहरूले रंगीन दानाका माला (beads) र स–साना उपहारहरू दर्शकतर्फ फ्याँक्छन्। मानिसहरू रमाइलो गर्दै ती उपहार समात्छन्—कोही हतारमा, कोही हाँस्दै, कोही आफूले पाएको अरूलाई बाँड्दै। म पनि त्यही भीडमा उभिएर रमाइलो गर्दै थिएँ, तर मन भने नेपालका जात्राहरू सम्झँदै थियो।

काठमाडौँ उपत्यका त जात्राको खानी नै हो—इन्द्र जात्रा, बिस्केट जात्रा, रातो र सेतो मच्छिन्द्रनाथ जात्रा, घोडे जात्रा, गाई जात्रा… कति हो कति! तराई र देशका अन्य भागहरूमा पनि सरस्वती, दुर्गा आदिका मूर्ति विसर्जन र विभिन्न नाचहरू सहितका अनेकौँ जात्रा मनाइन्छन्। यी सबैले हाम्रो धार्मिक र सांस्कृतिक मूल्यलाई जगेर्ना गरेका छन्। तर प्रश्न उठ्छ—किन यिनले मार्दी ग्रा जस्तै आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न सकेका छैनन्?

कुनै पनि जात्रा विशेष समुदायको धार्मिक विश्वासबाट सुरु हुन्छ। तर त्यसलाई सम्पूर्ण समाजले सांस्कृतिक सम्पदाका रूपमा स्वीकार गरी, मूल मर्मलाई जोगाउँदै अन्य समुदाय र समूहहरूको सहभागिता थप्दै बृहत्तर बनाउने हो भने त्यो राष्ट्रकै बहुमूल्य सम्पत्ति बन्न सक्छ। यसले पर्यटन प्रवर्द्धनमार्फत आर्थिक विकासमा पनि टेवा पुर्‍याउँछ।

मार्दी ग्रा पनि सुरुवातमा फ्रान्सेली क्रिश्चियनहरूले १८औँ शताब्दीमा न्यु ओरलिन्समा ल्याएको सामान्य पर्व थियो। इस्टर अघिको ४६ दिनको व्रत बस्नुअघि “फ्याट ट्युस्डे” (मंगलबार) मा मिठा परिकार—जस्तै “किङ केक”—खाने चलन थियो। तर समयसँगै यस पर्वलाई सम्पूर्ण शहरले अपनायो, विस्तार गर्‍यो, र आज विश्वभरका पर्यटक तान्ने सांस्कृतिक उत्सवमा रूपान्तरण गर्‍यो।

हामी पनि आफ्ना जात्राहरूलाई यसरी विस्तार गर्न सक्छौँ कि? नयाँ गतिविधि थप्ने, सहभागिता बढाउने, जात्रा क्षेत्र विस्तार गर्ने—यी सम्भावित उपाय हुन सक्छन्। पहिले सिमित क्षेत्रमा हुने जात्राहरू आजको विस्तारित शहरअनुसार अन्य क्षेत्रसम्म फैलाउन सकिन्छ। तर यस क्रममा मूल धार्मिक मर्म र पवित्रतालाई भने कदापि आँच पुग्न नदिनु जरुरी छ।

यस्तै सोचमा डुबिरहेको बेला एउटा अधबैँसे महिलाले रथबाट फालेको रुमाल समातेर मेरो काँधमा राख्दै “तिमीलाई उपहार” भनी। म पनि केही फिर्ता दिन चाहन्थेँ, तर छेउमै उभिएकी छोरीले “नचिनेको मान्छेसँग धेरै नबोल्नु” भनेकी थिई। त्यसैले केवल धन्यवाद दिएर शालीनतासाथ उभिएँ र परेड हेर्दै रहेँ।

तर मनभित्र भने एउटै कुरा खेलिरह्यो—हाम्रा नेपाली जात्राहरूलाई अझ कसरी जीवन्त, आकर्षक र विश्वसामु चिनाउने बनाउने?

फेब्रुअरी १७, २०२६

न्यु ओरलिन्स, अमेरिका

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्