दक्षिण कोरियामा रहेका नेपालीहरूको प्रतिष्ठित सामाजिक संस्था नेपाली सम्पर्क समिति (एनसीसी) को आगामी अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदका लागि विभिन्न व्यक्तित्वहरू आकांक्षी देखिएका छन्।
यसैक्रममा ईपीएसमार्फत दक्षिण कोरिया प्रवेश गरी विभिन्न सामाजिक संघ–संस्थामा सक्रिय रहँदै आउनुभएका प्रविण गिरी अध्यक्ष पदका आकांक्षीका रूपमा अगाडि आउनुभएको छ।
लामो समयदेखि कोरियामा रहेका नेपाली समुदायबीच सक्रिय रहँदै आउनुभएका गिरी यसअघि कास्की परिवार दक्षिण कोरियाका अध्यक्ष रहिसक्नुभएको छ। साथै उहाँ कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका वर्तमान सल्लाहकार तथा गण्डकी प्रदेश समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ।
सहयोगी, मिलनसार र कुशल नेतृत्व क्षमताका सामाजिक व्यक्तित्वका रूपमा परिचित गिरीले विभिन्न सामाजिक संघ–संस्थामा महत्वपूर्ण योगदान दिँदै नेपाली समुदायको हितमा निरन्तर काम गर्दै आउनुभएको बताइन्छ।
यही मार्च १५ मा सम्पन्न हुन गइरहेको नेपाली सम्पर्क समिति (एनसीसी) को अधिवेशनलाई दक्षिण कोरियास्थित नेपाली समुदायले चासोका साथ हेरेका छन्। उक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने अपेक्षा गरिएको छ।







