दक्षिण कोरियामा क्रियाशील कालीगण्डकी समाज दक्षिण कोरिया को छैटौँ अधिवेशन तथा सलनाल भेटघाट कार्यक्रम सउलस्थित नमस्ते रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ। फेब्रुअरी १६ तारिख आयोजित अधिवेशनबाट कृष्ण प्रसाद न्यौपाने अध्यक्ष रहने गरी १५ सदस्यीय (३ जना पदपूर्ति हुन बाँकी) छैटौँ कार्यसमिति गठन गरिएको हो।
समाजका कार्यवाहक अध्यक्ष अनिल अधिकारीको सभाध्यक्षता तथा गण्डकी प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष नरकुमार गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजका संरक्षक तथा पूर्व कार्यवाहक अध्यक्ष ह्यारी बोण्डले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कोषाध्यक्ष केशव पाण्डेयले प्रगति प्रतिवेदन तथा आर्थिक आय–व्यय विवरण प्रस्तुत गरेका थिए।
अधिवेशनमा विशेष अतिथिका रूपमा स्याङ्जा समाज कोरियाका केन्द्रीय अध्यक्ष सुशील गुरुङ र वरिष्ठ उपाध्यक्ष माधव अर्याल, कास्की परिवारका अध्यक्ष सन्तोष गुरुङ, नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाका संरक्षक तथा निवर्तमान अध्यक्ष आरएन अधिकारी, *गुल्मी सम्पर्क समितिका अध्यक्ष जीवन न्यौपाने, वन्जु मुन्माक मैत्री समाजका अध्यक्ष बोम्जन गुरुङ, साथै कालीगण्डकी समाजका संरक्षक तथा पूर्वाध्यक्षद्वय राजेश पाण्डेय र विजय लगायत विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। वक्ताहरूले कालीगण्डकी समाजका संस्थागत गतिविधिहरुको प्रशंसा गर्दै अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए।
उद्घाटन सत्रपछि सम्पन्न बन्द सत्रमा विजय थापाको संयोजकत्वमा सदस्यहरू राजेश पाण्डेय र ह्यारी बोण्ड सम्मिलित निर्वाचन मण्डलले निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्दै नवगठित कार्यसमितिलाई शपथग्रहण गराएको थियो। साथै, समाजलाई विभिन्न तवरबाट सहयोग पुर्याएका केही व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो।
छैटौँ अधिवेशनबाट अध्यक्षमा कृष्ण प्रसाद न्यौपाने, वरिष्ठ उपाध्यक्षमा केशव न्यौपाने, उपाध्यक्षमा हेमन्त थापा, महिला उपाध्यक्षमा कमला पाण्डेय, सचिवमा मणिदेव पाण्डेय, सहसचिवमा जगदिश भट्टराई, कोषाध्यक्षमा केशव पाण्डेय, सहकोषाध्यक्षमा हरि प्रसाद पाण्डेय तथा सदस्यहरूमा सुमन पाण्डेय, बसन्त न्यौपाने, हुमनाथ न्यौपाने रेग्मी र पशुपति न्यौपाने सर्वसम्मत चयन भएका छन्।
कार्यक्रमको उद्घाटन सत्र संस्थाका संस्थापक सदस्य मणिदेव पाण्डेयले सञ्चालन गरेका थिए भने बन्द सत्र संरक्षक तथा पूर्वाध्यक्ष विजय थापाले सञ्चालन गरेका थिए।
सन् २०१५ मा स्थापना भई “हाम्रो चाहना समृद्ध समाज निर्माणको परिकल्पना” भन्ने मूल नारालाई आत्मसात गर्दै अघि बढिरहेको कालीगण्डकी समाज दक्षिण कोरियाले अधिवेशन सभ्य र भव्य रूपमा सफल बनाउन सहयोग पुर्याउने आमन्त्रित अतिथि, सल्लाहकार, बुद्धिजीवी, शुभचिन्तक, सदस्य तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।






