साहित्य र सङ्गीतको माध्यमबाट विश्वभर आध्यात्मिक जागरण फैलाउने उद्देश्यसहित स्थापित सनातन साहित्य सङ्गीत साधना समूह “पाँच–स” दक्षिण कोरिया ले स्थापना कालदेखि नै पूर्वीय कला, संस्कार तथा नेपाली संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। सन् २०१४ मा हिन्दु जागरणबाट स्थापना भएको यस संस्था सन् २०१७ देखि समग्र सनातन साहित्य, सङ्गीत र साधनालाई समेट्दै “पाँच स” अवधारणामा विस्तार भएको हो। हाल नवौँ कार्यसमिति Mahendra Sapkota को नेतृत्वमा सक्रिय रूपमा कार्यरत रहेको छ।
संस्थाले Embassy of Nepal, Seoul लगायत दक्षिण कोरियामा स्थापित विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै होली, दशैँ, तीज, तिहार, स्वस्थानी व्रत, शिवरात्रि, बुद्ध पूर्णिमा जस्ता पर्वका अवसरमा धार्मिक तथा आध्यात्मिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ। साथै, Ansan शहरमा मन्दिर तथा नेपाली पुस्तकालय सञ्चालन गर्दै आइरहेको र विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमबाट प्राप्त मुनाफा उक्त सञ्चालनमै खर्च गरिने जानकारीसमेत संस्थाले दिएको छ।
यसैक्रममा, रंगहरूको पर्व फागु पूर्णिमा (होली) लाई प्रवासमा समेत व्यापक रूपमा परिचित गराउने उद्देश्यले यस वर्ष पनि “안산 होली महोत्सव 2026” आयोजना गरिने भएको छ। सनातन साहित्य सङ्गीत साधना समूह (पाँच–स) दक्षिण कोरियाको प्रमुख आयोजनामा तथा Madhesi Society South Korea र Tharu Kalyankari Sabha South Korea को सह–आयोजनामा आउँदो मार्च १, २०२६ (आइतबार) का दिन विविध सांस्कृतिक कार्यक्रमसहित महोत्सव सम्पन्न हुने जनाइएको छ।
कोरियावासी सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई मनोरञ्जन लिनुका साथै नेपाली संस्कृति प्रवर्द्धनमा टेवा पुर्याउन आयोजकले हार्दिक निमन्त्रणा गरेका छन्।
कार्यक्रम विवरण: मिति: २०२६ मार्च ०१, आइतबार समय: बिहान ११:३० बजे स्थान: 경기도 안산시 단원구 부부로 43 (원곡동)आनसान माइग्रेन्ट सेन्टर अगाडिको पार्क 안산 स्टेशनबाट पैदल ५ मिनेटको दूरी
नोट: होली खेल्न आवश्यक रंग तथा टि–सर्ट कार्यक्रम स्थलमै उपलब्ध हुनेछन्।






