नेपाली मुक्तक साहित्यको विकास, विस्तार र प्रवर्द्धनका लागि विगत एक दशकदेखि सक्रिय रूपमा क्रियाशील नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको आयोजनामा ‘बृहत् साहित्य मेला २०२६’ सौलस्थित शुभेच्छा रेस्टुरेन्टको सभाहलमा भव्य तथा गरिमामय रूपमा सम्पन्न भएको छ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष निर्दोष शिवको सभापतित्वमा सम्पन्न भएको थियो भने संस्थाका वरिष्ठ उपाध्यक्ष दीपक राज बञ्जाडेको कुशल सञ्चालनले कार्यक्रमलाई थप सजीव बनाएको थियो। प्रमुख अतिथिका रूपमा दक्षिण कोरियाका लागि नेपाली राजदूतावासका नियोग उपप्रमुख निर्मल प्रसाद भट्टराईको गरिमामय उपस्थिति रहेको थियो। विशेष अतिथिमा संस्थाका प्रमुख सल्लाहकार एवं संरक्षक आर.एन. रहनुका साथै सल्लाहकार सुशील शर्मा, सल्लाहकार ह्यारी बोण्ड, पाँच स कोरियाका उपाध्यक्ष शालिग्राम अर्याल लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको आतिथ्य उपस्थिति रहेको थियो। 
कार्यक्रममा अतिथि वाचकका रूपमा कवि सेसेफुङ शेर्मा, मुक्तककार रामचन्द्र शर्मा तथा गजलकार भीषण माहिलाले आ–आफ्ना सशक्त र भावपूर्ण सिर्जना प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी जीवन भण्डारी, रुसन सुवेदी, दीप प्रदीप कुमार, रुद्र कँडेल, मनोज पौडेल, मिलन शर्मा बस्याल, सन्देश पौडेल, प्रेम नारायण पाण्डे, दीपक स्पन्धन, चन्द्रकला राना मगर लगायतका सर्जकहरूले गजल, मुक्तक तथा कवितामार्फत साहित्यिक वातावरणलाई ऊर्जा प्रदान गरेका थिए। साहित्यप्रेमी श्रोताहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई अझै प्रभावशाली बनाएको थियो।
कार्यक्रम संयोजक सरोज भण्डारीले सम्पूर्ण व्यवस्थापन तथा समन्वय प्रभावकारी रूपमा गर्दै कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। सो अवसरमा मुक्तककार सरु लामिछानेको मुक्तक सङ्ग्रह ‘भीरको फूल’ को समेत औपचारिक विमोचन गरिएको थियो, जसले कार्यक्रममा थप साहित्यिक महत्त्व थपेको थियो।
परदेशको व्यस्त जीवनशैलीबीच पनि नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा यस्ता साहित्यिक अभियानहरूले महत्वपूर्ण योगदान पुर्याइरहेको सहभागीहरूले धारणा व्यक्त गरेका छन्। कार्यक्रमका लागि ब्यानर सौजन्य हिमालय ट्रीप ट्राभलका प्रबन्धक मीन विकले गर्नुभएको थियो भने सञ्चार सहकार्यमा सेतोमाटो, न्युज केन्द्रविन्दु, गोर्खाली रेडियो, कोरिया पाटी, वर्ल्ड खबर र विशाल आवाज रहेका थिए।
सौहार्दपूर्ण, सभ्य र साहित्यिक वातावरणमा सम्पन्न उक्त कार्यक्रमले प्रवासमा नेपाली साहित्यप्रेमीहरूबीच आपसी आत्मीयता र सिर्जनात्मक सहकार्यलाई अझ सुदृढ बनाएको आयोजकले जनाएको छ।






