दक्षिण कोरियामा रहेका नवलपुरेलीहरूको साझा संस्था नवलपुर समाज दक्षिण कोरिया को आगामी अधिवेशन यही फेब्रुअरी १५ तारिखमा आयोजना हुने भएको छ। अधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढिरहेको आयोजक समितिले जनाएको छ। कार्यक्रमलाई व्यवस्थित, मर्यादित र सहभागितामूलक बनाउने उद्देश्यका साथ विभिन्न उपसमितिहरू गठन गरी तयारीलाई अन्तिम चरणमा पुर्याइएको बताइएको छ।
यसपटकको अधिवेशन विशेष रूपमा रोचक बन्ने देखिएको छ, किनकि अध्यक्ष पदका लागि पाँच जना सक्षम र सक्रिय व्यक्तित्वहरूले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्। अध्यक्ष पदका आकांक्षीहरूमा मनोज पंगेनी, किसान पौडेल, प्रकाश थापा, खेम पंगेनी र नारायण भुसाल रहेका छन्।
उनीहरू सबैजना समाजमा विभिन्न समयमा सक्रिय भूमिका निर्वाह गर्दै आएका व्यक्तित्वहरू हुन्। आफ्नो–आफ्नो कार्ययोजना, अनुभव र प्रतिबद्धतासहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेपछि समुदायमा उत्साह थपिएको छ। उम्मेदवारहरूले समाजलाई पारदर्शी, जवाफदेही र प्रविधिमैत्री बनाउने, आपसी सहकार्य अभिवृद्धि गर्ने तथा नयाँ पुस्तालाई संस्थागत गतिविधिमा जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अधिवेशनमा विगत कार्यकालको प्रगति प्रतिवेदन प्रस्तुत गरिनुका साथै आगामी कार्ययोजना र नीतिगत दिशा तय गरिने कार्यक्रम रहेको छ। साथै, नयाँ नेतृत्व चयनसँगै संस्थाको आगामी कार्यदिशा, सामाजिक कार्यक्रमहरू, सांस्कृतिक गतिविधि र आपतकालीन सहयोग कोषलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने बताइएको छ।
दक्षिण कोरियामा रहेका नवलपुरेली समुदायबीच आपसी सद्भाव, सहकार्य र एकताको सन्देश फैलाउँदै अधिवेशन सफलतापूर्वक सम्पन्न हुने आयोजक समितिको विश्वास रहेको छ। व्यापक सहभागितासहित लोकतान्त्रिक अभ्यासको माध्यमबाट सक्षम नेतृत्व चयन गरिने अपेक्षा गरिएको छ।






