कोरिया–नेपाल इन्टरनेसनल एक्सचेन्जद्वारा नेपाल–कोरिया विकास सहकार्यमा उल्लेखनीय योगदान

0
52

कोरिया–नेपाल इन्टरनेसनल एक्सचेन्जले नेपाल र कोरियाबीच विकास सहकार्य, लगानी प्रवर्द्धन, पर्यटन तथा सांस्कृतिक आदान–प्रदानका क्षेत्रमा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको छ। संस्थाले कोरियामा रहेको नेपाली दूतावासको समन्वयमा बुसानमा कोरियन लगानीसम्बन्धी एक भव्य लगानी सम्मेलन आयोजना गरेको थियो, जसलाई नेपाल–कोरियाबीच पहिलोपटक सम्पन्न भएको ट्रेड तथा लगानी सम्मेलनका रूपमा लिइएको छ।

संस्थाले नेपालमा कोरियन लगानी भित्र्याउने, सम्भावित लगानीकर्ताहरूलाई नेपालसँग जोड्ने तथा लगानी सहजीकरण गर्ने कार्य निरन्तर रूपमा गर्दै आएको छ। यसका साथै, नेपालको पर्यटन र सांस्कृतिक विकास प्रवर्द्धनमा समेत संस्थाको योगदान उल्लेखनीय रहँदै आएको छ।

यसैक्रममा, कोरिया–नेपाल इन्टरनेसनल एक्सचेन्जको पहल तथा कोरियन रेल्ससँगको सहकार्यमा कोरियन रेल्सका अध्यक्षसहितको टोलीले नेपाल भ्रमण गरेको थियो। उक्त टोलीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरी नेपालको पूर्वाधार विकास र सम्भावनाबारे विस्तृत छलफल गरेको थियो। त्यस्तै, कोरियन राजदूतावासको समन्वय र अनुरोधमा विश्वकै छिटो रेलमध्ये एक मानिने केटीएक्स (KTX) रेलमा नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी भिडियो सामग्रीसमेत प्रसारण गरिएको थियो।

संस्थाले चित्रकला परिषद् नेपालसँग सहकार्य गर्दै नेपालका पर्यटनसम्बन्धी विभिन्न परियोजनाहरूमा लगानी तथा कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। यी सबै गतिविधिहरू संस्थाका अध्यक्ष श्रीजना नेपालीले जानकारी दिनुभएको हो।

अध्यक्ष श्रीजना नेपाली लामो समयदेखि कोरियामा बसोबास गर्दै नेपालको विकास, पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक विकासका क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ। उहाँ बुसानस्थित भिसा बुसान विश्वविद्यालयमा स्पेसल प्रोफेसरको रूपमा समेत कार्यरत हुनुहुन्छ। साथै, उहाँको आफ्नै कोरियन कसमेटिक कम्पनी रहेको छ भने कोरियन कसमेटिक, कोरियन डर्माटोलोजी तथा कोरियन एस्थेटिकसम्बन्धी शिक्षा प्रदान गर्ने एजुकेसन सेन्टर र स्किन क्लिनिकहरू पनि सञ्चालनमा छन्।

श्रीजना नेपालीको कोरियाको राजनीतिसँग प्रत्यक्ष तथा अप्रत्यक्ष सम्बन्ध रहेको उल्लेख गर्दै, कोरियाको राष्ट्रपति कार्यालयदेखि कोरियन रेलवे विभागका अध्यक्षसम्मका उच्चस्तरीय निकायहरूसँग सहकार्य गर्दै नेपालको विकासका लागि काम गरिरहेको उहाँले बताउनुभएको छ। आफ्नो अनुभव, पहुँच र अन्तर्राष्ट्रिय नेटवर्कमार्फत भविष्यमा नेपाल–कोरिया सम्बन्धलाई अझ मजबुत बनाउँदै नेपालको समग्र विकासमा थप योगदान दिन सकिने उहाँको विश्वास रहेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्