छैटौं टाइगर कप भलिबल पुरुषतर्फ गण्डकी च्याम्पियन, महिलातर्फ टिप टप न्यु डायमण्डको ऐतिहासिक जित

0
67

पोखरा । गण्डकी प्रदेश छैटौं टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ च्याम्पियन बनेको छ। पोखरा रंगशालाको भलिबल कोर्टमा आज सम्पन्न फाइनल खेलमा गण्डकीले नेपाल पुलिस क्लबलाई ३–१ सेटले पराजित गर्दै उपाधि हात पारेको हो।

पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट २८–२६ ले जित निकाल्यो। त्यसपछि खेलमा पूर्ण रूपमा हाबी बनेको गण्डकीले तेस्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले जित्दै उपाधि सुरक्षित गर्‍यो। दोस्रो सेटको संघर्षपूर्ण जितपछि गण्डकीको आत्मविश्वास बढेको देखिन्थ्यो।

यस जितसँगै गण्डकीले टाइगर कपको इतिहासमा तेस्रो पटक च्याम्पियन बन्ने गौरवसमेत हासिल गरेको छ। च्याम्पियन गण्डकीले ट्रफीसहित ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता पुलिस क्लबले ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँमा चित्त बुझाएको छ।

पुरुषतर्फको तेस्रो स्थान पर्वत भलिबल संघले हासिल गरेको छ। आफ्नो पहिलो सहभागितामै पर्वतले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो स्थान पक्का गरेको हो। पर्वतले आर्मीविरुद्ध २५–१९, २९–२७ र २५–१३ को सेट स्कोरमा जित निकालेको थियो। तेस्रो बनेको पर्वतले २ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

यसैबीच, महिलातर्फको फाइनल खेल हिजो सम्पन्न भएको थियो। फाइनलमा टिप टप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पहिलो पटक टाइगर कपको उपाधि जित्न सफल भयो।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ९ गतेदेखि सुरु भएको यस च्याम्पियनसिपमा पुरुषतर्फ ६ तथा महिलातर्फ ५ टोलीको सहभागिता रहेको थियो। रोमाञ्चक प्रतिस्पर्धा, दर्शकको उत्साह र उत्कृष्ट व्यवस्थापनका कारण छैटौं संस्करणको टाइगर कप सफल रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्