छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता नजिकिँदै जाँदा सहभागी टिमहरूमा विदेशी खेलाडी अनुबन्ध गर्ने होड बढ्दै गएको छ । यही क्रममा प्रतियोगितामा पहिलोपटक सहभागिता जनाउन लागेको पर्वत जिल्ला भलिबल संघले आफ्नो टिममा तीन जना पाकिस्तानी खेलाडी भित्र्याएको छ ।
पर्वत टिमका सहायक प्रशिक्षक युवराज भण्डारीका अनुसार तीनै जना पाकिस्तानी खेलाडी सोमबार काठमाडौं आइपुगेका छन् । पोखरा स्पोर्ट्ससँग कुराकानी गर्दै उनले विदेशी खेलाडीको आगमनले टिमको मनोबल र प्रतिस्पर्धात्मक क्षमता थप मजबुत हुने विश्वास व्यक्त गरे ।
पर्वत टिमबाट पाकिस्तानका दीन फखर उद्दिन, नाभिद मुहम्मद काशिफ र मुवाशर राजा मैदान उत्रनेछन् । यी खेलाडीहरूले आक्रमण, ब्लक र डिफेन्समा टिमलाई मजबुत बनाउने अपेक्षा गरिएको छ । टिमको कप्तानीको जिम्मेवारी भने युवा तथा प्रतिभाशाली खेलाडी सुवास कुँवरलाई दिइएको छ ।
पहिलोपटक टाइगर कपमा सहभागिता जनाउन लागेको पर्वत जिल्ला भलिबल संघ उपाधि जित्ने स्पष्ट लक्ष्यसहित प्रतियोगितामा होमिन लागेको सहायक प्रशिक्षक भण्डारीले बताए । उनका अनुसार विदेशी र घरेलु खेलाडीको सन्तुलित संयोजनले पर्वत टिमलाई बलियो दावेदारको रूपमा प्रस्तुत गर्नेछ ।
टाइगर कप भलिबल प्रतियोगिता नेपालकै प्रतिष्ठित प्रतियोगितामध्ये एक मानिन्छ, जहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहने गर्दछ । यसपटक पर्वत टिमको उपस्थितिले प्रतियोगितालाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।






