दक्षिण कोरियाको मोक्पोमा माघे सक्रान्ति (मिनाम ल्हेस ५०१९) भव्य रूपमा सम्पन्न

0
110

दक्षिण कोरियामा रहेका नेपालीहरूको महान चाड तथा मगर समुदायको मुख्य पर्व माघे सक्रान्ति (मिनाम ल्हेस ५०१९) यस वर्ष दक्षिण कोरियाको मोक्पो शहरमा भव्य रूपमा सम्पन्न भएको छ।

नेपाल द:कोरिया छल्ला मोक्पो मगर संघको मुख्य व्यवस्थापनमा तथा केन्द्र सउल, थेगु शाखा, किम्हे–बुसान शाखा, गजे शाखा र जेजु शाखाको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा हालसम्मकै उच्च सहभागिता देखिएको थियो। करिब ७०० भन्दा बढी नेपालीहरूको सहभागिता रहेको आयोजकले जनाएका छन्।

नेपाली कला, संस्कृति, रीतिरिवाजको संरक्षण तथा नयाँ पुस्तालाई आफ्ना पूर्खाहरूको इतिहास, संघर्ष र संस्कारबारे अवगत गराउने उद्देश्यका साथ हरेक वर्ष देश–विदेशमा माघे सक्रान्ति मनाइँदै आएको छ। प्रवासमा रहेर पनि आफ्नो मौलिक पर्व नजिकबाट अनुभूति गर्न पाउनु खुसीको विषय भएको सहभागीहरूले बताएका छन्। ऐतिहासिक चाडपर्वको संरक्षण गर्नु हामी सबैको दायित्व भएको आयोजक पक्षको भनाइ छ।

कार्यक्रमका प्रमुख अतिथि दक्षिण कोरियाका लागि नेपालकी राजदूत डा. शिवमाया तुम्बाहाम्फे रहनु भएको थियो। विशेष अतिथिहरूमा NRNA बरिष्ठ उपाध्यक्ष तारा पुन मगर, नेपाल आदिवासी जनजाति महासंघ अध्यक्ष शोभराज बोम्जन, नेपाल द:कोरिया अध्यक्ष अञ्जन थापा मगर, नेपाल द:कोरिया सल्लाहकार मीना थापा मगर, मोक्पो–영암 क्षेत्रका प्रतिनिधि तथा विभिन्न क्षेत्रीय संघ–संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी अतिथिहरूलाई मगर समुदायको मौलिक पहिरन भाग्रा र रातो गलबन्दी लगाएर स्वागत गरिएको थियो। साथै मगर समुदायका परम्परागत परिकारहरू—तरूल, बटुक, सेलरोटी, भुतुवा, गन्द्रुकको अचार, चिकन रोस्ट, पुलाउलगायत करिब ९ प्रकारका स्वादिष्ट परिकार अतिथिहरूलाई पस्किएको थियो। मगर मौलिक सांस्कृतिक नृत्य तथा गायन प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

माघे सक्रान्तिको अवसर पारेर दक्षिण कोरियामा विभिन्न क्षेत्रमा सक्रिय रही नेपालीहरूको नाम उच्च बनाउने व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो। सम्मानित हुने व्यक्तिहरूमा

NRNA बरिष्ठ उपाध्यक्ष – तारा पुन मगर नेपाल द:कोरिया लोकदोहोरी प्रतिष्ठान अध्यक्ष – मिलन थापा मगर नेपाल द:कोरिया भलिबल संघ अध्यक्ष – चन्द्र राना मगर मिर्याङ समाज अध्यक्ष – अशिम पुन मगर मगर संघ फोटो ग्यालरी अध्यक्ष – अनिल लामीछाने मगर नेपाल द:कोरिया मगर संघ बरिष्ठ सल्लाहकार – मीना थापा मगर उनीहरूलाई राजदूत डा. शिवमाया तुम्बाहाम्फेको हातबाट सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रमलाई सफल बनाउन भौतिक, आर्थिक तथा मानसिक रूपमा सहयोग गर्ने सम्पूर्ण संघ–संस्था, बुद्धिजीवी तथा नेपाली मनहरूलाई छल्ला मोक्पो मगर संघका अध्यक्ष अशोक राना मगरले व्यक्तिगत तथा संस्थागत रूपमा हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ। विशेष धन्यवाद संघका सम्पूर्ण कार्यसमिति सदस्यहरूलाई दिँदै, यसरी आफ्नो संस्कार र परम्परा जोगाउन सक्रिय सबैलाई पूर्खा–पितृहरूको आशीर्वाद प्राप्त हुने विश्वास समेत व्यक्त गर्नुभएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्