दक्षिण कोरियामा रहेका स्याङ्जाली नेपालीहरूको साझा संस्था स्याङ्जा समाज दक्षिण कोरिया, थेगु शाखाको आयोजनामा अनाथ बालबालिकाको सहयोगार्थ भव्य सांगीतिक कार्यक्रम “स्याङ्जा थेगु सांगीतिक धमाका” आयोजना हुने भएको छ।
कार्यक्रम आगामी १६ फेब्रुअरी २०२६ मा कुकमिन ग्वानग्वाङ नाइट (국민관광나이트), थेगुमा सम्पन्न हुने आयोजकले जनाएको छ। “स्याङ्जाली एकता, उपकारी मन, सद्भावसँगै बिताऔं परदेशी जीवन” भन्ने मूल नारासहित आयोजना हुन लागेको यस कार्यक्रममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरूसँगै स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहनेछ।
कार्यक्रमबाट संकलित सम्पूर्ण रकम अनाथ बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले प्रयोग गरिने आयोजक संस्थाले स्पष्ट पारेको छ। परदेशमा रहेर पनि सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै मानवसेवाको भावनालाई अघि बढाउने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम सफल बनाउन विभिन्न संघ–संस्था, व्यवसायिक प्रतिष्ठान तथा सञ्चारमाध्यमहरूले सहकार्य गरेका छन्। आयोजकले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई पुण्यकार्यमा सहभागी हुन हार्दिक अनुरोध गरेको छ।






