हेल्प नेपाल लगातार तेस्रो पटक र न्यु डायमण्ड चार वर्षपछि एनभिए भलिबल च्याम्पियन

0
85
Screenshot

काठमाडौं – टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले नवौं एनभिए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ उपाधि जित्दै लगातार तेस्रो पटक च्याम्पियन बन्ने कीर्तिमान बनाएको छ।
शनिबार सम्पन्न फाइनलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो। हेल्प नेपाल २५–२१, २५–२१ र २५–२१ को सेट स्कोरमा विजयी भयो। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको हेल्प नेपालले खेलेका पाँचै खेलमा कुनै पनि सेट नगुमाई च्याम्पियनसिप जित्न सफल भयो।
हेल्प नेपाल र आर्मीबीच लगातार चौथो पटक एनभिए च्याम्पियनसिपको फाइनल भेट भएको हो। छैटौं संस्करण (२०७८) मा आर्मी च्याम्पियन बनेको थियो भने त्यसयता हेल्प नेपालले २०७९, २०८० र २०८२ मा लगातार उपाधि जित्दै वर्चस्व कायम राखेको छ।
महिलातर्फ भने टिप टप हेल्प न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले चार वर्षपछि एनभिए भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हरायो। न्यु डायमण्ड २५–१८, २५–१९ र २५–१८ ले विजयी भयो। न्यु डायमण्डले यस संस्करणमा एक सेट पनि नगुमाई च्याम्पियनसिप जितेको हो। तेस्रो पटक फाइनल खेलेको न्यु डायमण्ड दोस्रो पटक च्याम्पियन बनेको हो। यसअघि २०७८ मा एपिएफ क्लबलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो। २०७९ को फाइनलमा भने पुलिससँग पराजित भएको थियो। गत फागुनमा पोखरामा सम्पन्न एनभिए भलिबल लिगको फाइनलमा पनि न्यु डायमण्ड पुलिससँग नै पराजित भएको थियो।
तेस्रो स्थानका लागि भएको खेलमा पुरुषतर्फ नेपाल पुलिस क्लबले रुकुम पश्चिम ट्रेनिङ सेन्टरलाई ३–२ ले पराजित गर्दै तेस्रो स्थान हासिल गर्‍यो। पहिलो दुई सेट गुमाएको पुलिसले २५–२७, २३–२५, २६–२४, २५–२२ र १५–१० को पुनरागमन जित निकालेको हो।महिलातर्फ एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान सुरक्षित गर्‍यो। एकपक्षीय खेलमा एपिएफले आर्मीलाई २५–१३, २५–१७ र २५–१० ले हराएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्