मोक्पो, दक्षिण कोरिया – नेपाल मगर संघ मोक्पो छल्लादो शाखाले बिरामी मगर समुदाय सदस्यको उपचार तथा आर्थिक सहयोगका लागि सञ्चालन गरिएको “बिरामी सहायता तथा उपहार सहयोग अभियान” अन्तर्गत संकलित रकम हस्तान्तरण गरेको छ। संघका महासचिव जिवन राना मगर र अध्यक्ष अशोक राना मगरले हस्ताक्षर गरिएको औपचारिक सूचनामा अभियानमार्फत कुल २ करोड ३२ लाख ९३ हजार ४ सय ३२ रुपैयाँ जम्मा भई बिरामीको खातामा हस्तान्तरण भएको जनाइएको छ।
यस अभियानमा नेपाल मगर संघका विभिन्न शाखा, नेपाली समुदाय, समाज तथा कोरियन संस्थाबाट उल्लेखनीय सहयोग प्राप्त भएको छ। साथै बिरामीको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार हुँदै गएको र हाल घरमै आराम उपचारमा रहेको संघले जनाएको छ।
अभियानलाई सफल बनाउन ठूलो योगदान पुगेको भन्दै मोक्पो मगर संघले सबै दाताहरू, प्रदेश–प्रदेशबाट सहयोग हात अघि सार्ने नेपाली समुदाय तथा यस अभियानको प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेका सञ्चारकर्मी र मिडियाप्रति विशेष आभार प्रकट गरेको छ।
संगठनले यस्ता सामाजिक तथा मानवीय कार्यहरु आगामी दिनमा पनि निरन्तर जारी रहने प्रतिवद्धता व्यक्त गर्दै सबैलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ।






