नेपाल–दक्षिण कोरिया कूटनीतिक सम्बन्धको ५२औँ वर्षगाँठको अवसरमा दक्षिण कोरियाको सउलमा ‘नेपाली टोपी दिवस’ भव्य रूपमा मनाइने भएको छ। नेपाली मौलिक पहिचान, संस्कृति र परम्पराको प्रतीक नेपाली टोपीको संरक्षण, प्रवर्द्धन तथा विश्वसामु चिनाउने उद्देश्यसहित उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रम २०२६ जनवरी १ तारिख, दिउँसो १२ बजे, सउल स्टेशनमा आयोजना हुनेछ। कार्यक्रममा नेपाली टोपी, भेषभूषा, कला, संस्कृति तथा ऐतिहासिक सम्पदालाई झल्काउने विविध प्रस्तुति रहने आयोजकले जनाएको छ।
Men’s Room Reloaded को आयोजनामा तथा NRNA र NCC लगायत विभिन्न संघ–संस्थाको सह–आयोजनामा हुन लागेको यस कार्यक्रममा कोरियामा रहेका नेपाली समुदायको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रमका मिडिया पार्टनरहरूद्वारा समेत कार्यक्रमको प्रचार–प्रसार व्यापक रूपमा गरिँदैछ।
प्रवासी भूमिमा रहेर पनि नेपाली पहिचान र संस्कृतिलाई जोगाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको ‘नेपाली टोपी दिवस’ कार्यक्रममा उपस्थित भई सहभागिता जनाउन आयोजकले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आग्रह गरेका छन्।






