दक्षिण कोरियामा नेपाली श्रमिकका लागि नियमित योग–ध्यान तथा मानसिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम हुने

0
56

सिओल । दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकहरूले भोग्दै आएका तनाव (Stress), चिन्ता (Anxiety) र अवसाद (Depression) जस्ता मानसिक समस्यालाई न्यूनीकरण गर्दै शारीरिक, मानसिक तथा आत्मिक स्वास्थ्य सुदृढ बनाउने उद्देश्यले नियमित योग–ध्यान तथा मानसिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम सुरु हुने भएको छ।

नेपाली राजदूतावास, सिओलको अगुवाइमा ईपीएस कोरिया शाखा तथा अभ्युदय योगध्यान केन्द्रको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो। कार्यक्रम हरेक शनिबार र आइतबार दक्षिण कोरियाको समयअनुसार बिहान ८:१५ देखि ९:४५ बजेसम्म जुम (Zoom) माध्यमबाट सञ्चालन गरिने जनाइएको छ।

नेपाली राजदूतावास, सिओलकी श्रम काउन्सिलर मैया कंडेलले जानकारी दिँदै दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकहरू लामो समयसम्म कामको दबाब, एक्लोपन, पारिवारिक चिन्ता तथा सामाजिक दूरीका कारण मानसिक स्वास्थ्य समस्याबाट प्रभावित हुँदै आएको बताउनुभयो। यस्ता समस्यालाई ध्यानमा राख्दै योग, ध्यान र मानसिक स्वास्थ्यसम्बन्धी अभ्यासमार्फत श्रमिकहरूलाई सशक्त बनाउने उद्देश्यले कार्यक्रम सुरु गरिएको उहाँको भनाइ छ।

उक्त कार्यक्रमको औपचारिक उद्घाटन विश्व ध्यान दिवसको अवसर पारेर २०८२ साल पुस ६ गते आइतबार, कोरियाको समयअनुसार बिहान ८:१५ बजे जुममार्फत गरिनेछ।

राजदूतावासले दक्षिण कोरियामा रहनु भएका सबै नेपालीहरूलाई यस कार्यक्रममा नियमित रूपमा सहभागी भई शारीरिक, मानसिक तथा आत्मिक स्वास्थ्य लाभ लिन हार्दिक अनुरोध गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्