कोरियामा कार्यरत नेपाली श्रमिक तथा विद्यार्थी युनियन आधिकारिक रूपमा गठन

0
68

दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिक तथा विद्यार्थीहरूलाई एकताबद्ध गर्दै हक–अधिकारका विषयमा साझा आवाज उठाउने उद्देश्यले “नेपाली श्रमिक तथा विद्यार्थी युनियन” आधिकारिक रूपमा गठन गरिएको छ।

१४ डिसेम्बर २०२५ मा सम्पन्न भेलामार्फत कोरियामा रहेका नेपाली श्रमिक र विद्यार्थीहरूबीच आपसी एकता, सहकार्य र सहअस्तित्वलाई मजबुत बनाउने लक्ष्यसहित युनियन स्थापना गरिएको हो। युनियनले श्रमिक तथा विद्यार्थीहरूले भोग्दै आएका समस्या, अधिकार, आवश्यकता तथा चुनौतीहरूलाई संस्थागत रूपमा सम्बोधन गर्दै सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा आवाज पुर्‍याउने जनाएको छ।

नवगठित युनियनले विशेषगरी कोरियामा नयाँ आउने नेपाली श्रमिक तथा विद्यार्थीहरूलाई आवश्यक सूचना, मार्गदर्शन तथा सहयोग प्रदान गर्ने, साथै समुदायभित्र सकारात्मक, अनुशासित र जिम्मेवार भूमिका निर्वाह गर्ने उद्देश्यलाई प्राथमिकतामा राखेको छ।

युनियनलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न गठन गरिएको कार्यसमितिको अध्यक्षमा डा. केशवराज भट्टराई चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा प्रदिप भट्टराई, उपाध्यक्षमा सुर्य भट्टराई र महिला उपाध्यक्षमा राधा थापा रहेका छन्। महासचिवको जिम्मेवारी आयुषा पाण्डेले सम्हालेकी छन् भने सचिवमा प्रकाश कार्की चयन भएका छन्। कोषाध्यक्षमा टेक बहादुर बटला र सह–कोषाध्यक्षमा कमल भुजेल रहेका छन्।

यस्तै, कार्यसमिति सदस्यहरूमा ईश्वर देवकोटा, टिमोथी भण्डारी, रोशन पौडेल, रमेश गुल्मी, रमेश लामिछाने, विध्यनन्द सोनी, आयुष मगर, सचिन नेपाल, सुनिल धामी, तारामाया लामा, सारज्य महत, करिश्मा श्रेष्ठ र दिपशीखा दनाई रहेका छन्।

नवगठित युनियनले आगामी दिनहरूमा कोरियामा रहेका सम्पूर्ण नेपाली श्रमिक तथा विद्यार्थी दाजुभाइ–दिदीबहिनीहरूको सहयोग, सुझाव तथा सक्रिय सहभागिताको अपेक्षा गरेको छ। सबैको सामूहिक प्रयासबाट युनियनलाई प्रभावकारी, उत्तरदायी र उदाहरणीय संस्थाका रूपमा स्थापित गर्ने विश्वास लिइएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्