दक्षिण कोरिया — अन्तर्राष्ट्रिय मुई थाई क्षेत्रमा नेपाललाई विश्वमञ्चमा चिनाउँदै आएकी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरकी खेलाडी सारिका धमलालाई नेपाली खेलाडी संघ, दक्षिण कोरियाले विशेष सम्मान प्रदान गरेको छ। संघका अध्यक्ष आर.के. श्रेष्ठ ज्यूले सारिकालाई २ लाख वोन सहित सम्मानपत्र प्रदान गर्दै उनको उपलब्धि र समर्पणको उच्च प्रशंसा गर्नुभयो। 
नेपालको माउन्टेन मुई थाई क्लबबाट खेलकुद यात्रा सुरु गरेकी सारिकाले अत्यन्त छोटो समयमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा धेरै उपाधि, पदक र सम्मानहरू हात पार्न सफल भएकी छन्। प्रतियोगिताको प्रारम्भिक चरणदेखि अहिलेसम्म उनले एकपटक पनि हार नबेहोरेको उपलब्धिले उनलाई नेपालकै गौरवशाली खेलाडीको श्रेणीमा स्थापित गरेको छ।
हाल खेल अध्ययन र उज्ज्वल भविष्य निर्माणका लागि दक्षिण कोरियामा बस्दै आएकी सारिका प्रशिक्षण, अध्ययन र आफ्नो क्षमताको विकासमा निरन्तर लागिरहेकी छन्। विदेशमा रहँदा पनि खेलप्रति उनको समर्पण झनै प्रशंसनीय बनेको छ।
सारिकाले आफ्नो यात्रामा परिवारको सहयोग सर्वाधिक महत्वपूर्ण रहेको बताउँदै विशेषगरी बाबु शंकर धमलाको प्रेरणा र मार्गदर्शनलाई आफ्नो सफलताको मूल आधार ठान्छिन्। स्वयं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुई थाई खेलाडी रहेका उनका बाबु नेपालमा खेलकुद क्षेत्रको विकासमा सक्रिय हुनुका साथै माउन्टेन मुई थाई एकेडेमीका संचालक पनि हुन्।
“मेरो प्रेरणा मेरा बुबानै हुनुहुन्छ, उहाँकै लगन, परिश्रम र मार्गदर्शनले आजको म बनाएको हो,” सारिकाले भनिन्।
सारिका धमलाको बढ्दो सफलताले नेपालको महिला खेलकुद क्षेत्रमा नयाँ ऊर्जा थपेको छ। दक्षिण कोरियामा नेपाली खेलाडी संघद्वारा गरिएको यो सम्मानले विदेशमा रहँदै देशको नाम उज्यालो पार्ने खेलकर्मीहरूलाई थप उत्साह, हौसला र सम्बद्धताको गहिरो सन्देश दिएको छ।






