दक्षिण कोरियामा पछिल्लो समय G-1 (Refugee/ Humanitarian) भिसा दुरुपयोग हुने गतिविधि तीव्र रूपमा बढ्न थालेसँगै सियोलस्थित नेपाली दूतावासले औपचारिक सूचना जारी गर्दै नेपाली नागरिकलाई सचेत गराएको छ। 
दूतावासका अनुसार केही व्यक्ति र समूहहरूले सामाजिक सञ्जाल TikTok, Facebook, YouTube—मार्फत “G-1 भिसा सजिलो छ”, “काम पाउन पाइन्छ”, “द्रुत रूपमा भिसा मिल्छ” जस्ता भ्रामक प्रचार गर्दै नेपालीहरूलाई लोभ्याइरहेको पाइएको छ। दूतावासले यस प्रकारका झुट्टा जानकारीमा नपर्न सबैलाई आग्रह गरेको छ।
G-1 (शरणार्थी) भिसा सामान्य काम, पर्यटक, वा व्यक्तिगत कारणका लागि होइन।
यो भिसा केवल मानविय संकट, उत्पीडन वा जोखिममा परेका तथा अन्तर्राष्ट्रिय सुरक्षाको आवश्यकतामा रहेका व्यक्तिलाई मात्र प्रदान गरिन्छ।
G-1 भिसा आवेदन दिएको भन्दै कोही व्यक्तिलाई नेपालबाट नोक्सान पुर्याउने धम्की, कर, वा दबाब दिनु आपराधिक कार्य हो, जसका विरुद्ध दूतावासले आवश्यक कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ।
सामाजिक सञ्जालमा फैलाइएका भ्रामक अभिव्यक्ति—“G-1 सजिलै पाइन्छ”, “काम पाइन्छ”, “देरै रकम चाँडै कमाउन सकिन्छ”—पूर्ण रूपमा गलत भएको दूतावासको प्रष्टिकरण छ।
दूतावासका अनुसार, दक्षिण कोरियाको Immigration Risk Record मा परेको व्यक्तिलाई शरणार्थी प्रक्रियामा समेत गम्भीर असर पर्न सक्छ। त्यसैले कुनै पनि अवैध माध्यम, दलाल, वा भ्रामक सञ्जालमा विश्वास नगर्न आग्रह गरिएको छ।
अन्त्यमा, दूतावासले आवश्यकता परे सबै नेपालीलाई कानुनी सहायता र आवश्यक मार्गदर्शन उपलब्ध गराइने प्रतिबद्धता जनाएको छ। नेपाली नागरिकको हित, सुरक्षा तथा प्रतिष्ठाको रक्षा गर्नु दूतावासको प्राथमिक दायित्व भएको स्मरण पनि गराइएको छ।






