गत हप्ता प्राविधिक कारणवश स्थगित भएको उद्यमशीलता कार्यक्रम अब आगामी शनिबार हुने भएको छ। गण्डकी प्रदेश समाज, दक्षिण कोरियाले यसबारे जानकारी दिँदै सहभागीहरूमा पर्न गएको असहजता प्रति क्षमायाचना गरेको छ।
“उद्यमशीलता कार्यक्रम – भाग १” शीर्षकमा आयोजना हुने यस कार्यक्रमको मुल नाराः
“प्रवासीबाट उद्यमीका यात्रा तर्फ”कार्यक्रमको उद्देश्य प्रवासमा आर्जन गरिएको ज्ञान, सीप र पुँजीलाई स्वदेशमा उद्यमका रूपमा रूपान्तरण गर्न प्रवासी नेपालीहरूलाई प्रेरित गर्नु रहेको छ।
कार्यक्रमका विशेष अतिथि सफल उद्यमी श्री विनोद कुँवर हुनुहुनेछ, जसले नेपालमा कोरियन चाउचाउ कम्पनी, कोरियन रक्सी (Soju) कम्पनी र श्रृङ्गार सामग्री कम्पनी लगायत अन्य थुप्रै व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ। उहाँको प्रेरणादायी उद्यम यात्राले प्रवासी नेपालीहरूलाई स्वदेशमै अवसर सिर्जना गर्ने हौसला जगाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।
कार्यक्रमका प्रस्तोता डा. बाबुकाजी श्रेष्ठ हुनुहुनेछ, जसले कार्यक्रमलाई जानकारीमूलक र संवादमुखी शैलीमा सञ्चालन गर्नुहुनेछ।
उक्त कार्यक्रम गण्डकी प्रदेश समाजको अफिसियल पेज र पोखरा टेलिभिजन मार्फत प्रत्यक्ष प्रशारण हुनेछ।
गण्डकी प्रदेश समाज, दक्षिण कोरियाले प्रवासी नेपालीहरूलाई “रोजगारी मात्र होइन, स्वदेशमा रोजगारी सिर्जना गर्ने उद्यमी बनौँ” भन्ने सन्देशसहित उद्यमशीलताको अभियानलाई निरन्तर अघि बढाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।






