२०औं MAMF (माइग्रेन्ट्स अरिराङ मल्टिकल्चरल फेस्टिभल) २०२५ मा नेपालको सहभागिता

0
119

दक्षिण कोरियाको ऐतिहासिक शहर चाङ्वनमा यही अक्टोबर २४ देखि २६ सम्म भव्य रूपमा आयोजना हुन गइरहेको २०औं माइग्रेन्ट्स अरिराङ मल्टिकल्चरल फेस्टिभल (MAMF 2025) मा नेपालले यस वर्ष पनि उत्साहजनक सहभागिता जनाउने भएको छ। हरेक वर्षजस्तै यस वर्ष पनि 경남 이주민 센्टर (Gyeongnam Migrant Center) को आयोजनामा हुने यो बहुसांस्कृतिक पर्वमा दक्षिण कोरिया सहित १६ राष्ट्रका प्रतिनिधि टोलीहरू सहभागी हुँदै छन्। कार्यक्रममा सहभागी प्रत्येक देशले आफ्ना मौलिक कला, संगीत, नृत्य र सांस्कृतिक झाँकीमार्फत आफ्नो देशको पहिचान प्रस्तुत गर्नेछन्।

नेपालले यस वर्ष नेवारी समुदायको सांस्कृतिक र धार्मिक पर्व ‘कुमारी जात्रा (इन्द्र जात्रा)’ लाई प्रवर्द्धन गर्ने उद्देश्यसहित सहभागिता जनाउने तयारी गरेको छ। नेपालको झाँकी र प्रस्तुति यस वर्षको माइग्रेन्ट्स अरिराङ परेडको पनि मुख्य आकर्षण रहनेछ। कार्यक्रममा सहभागी नेपाली टोलीले नेपाली मौलिक भेषभूषा, नृत्य र सम्पदा झल्काउने विविध प्रस्तुति दिनेछ।

नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकार मिलन नेवारले एशियन म्युजिक कन्सर्टमा विशेष सांगीतिक प्रस्तुति दिनेछिन्। उनको प्रस्तुति मार्फत नेपाली संगीत र संस्कृति कोरियाली तथा अन्तर्राष्ट्रिय दर्शकसामु प्रस्तुत गरिनेछ। साथै, कोरियामा रहेका नेपाली कलाकारहरूको पनि सांस्कृतिक प्रस्तुति समावेश हुनेछ।

यो वर्षको MAMF 2025 मा नेपाल, दक्षिण कोरिया, मंगोलिया, जापान, चीन, इन्डोनेशिया, म्यानमार, बंगलादेश, श्रीलङ्का, क्याम्बोडिया, थाइल्याण्ड, भियतनाम, फिलिपिन्स, पाकिस्तान, उज्बेकिस्तान लगायतका देशहरूले आफ्ना सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गर्नेछन्। कार्यक्रमले एशिया तथा विश्वभरका आप्रवासी समुदायबीच आपसी सद्भाव, सांस्कृतिक आदान–प्रदान र सहअस्तित्वको सन्देश फैलाउनेछ।

कार्यक्रमको आयोजना MAMF Foundation र Changwon City Government को सहकार्यमा हुँदैछ। विशेषत यो कार्यक्रम सफल पार्न कोरियामा रहेका विभिन्न संघ संस्था र सम्पूर्ण नेपाली समुदायको सहयोग र सहभागिता अपेक्षित छ। आयोजकहरूले सबै नेपालीहरूलाई कार्यक्रममा उपस्थित भई नेपालका मौलिक कला, संस्कृति र पहिचानलाई विश्व सामु चिनाउन योगदान गर्न आग्रह गरेका छन्।

यस वर्षको MAMF को मूल उद्देश्य विविधता, सहअस्तित्व र आपसी सम्मानको भावनालाई बलियो बनाउँदै बहुसांस्कृतिक समाजमा एकताको सन्देश फैलाउनु रहेको छ। नेपाली समुदायको सक्रिय सहभागिता र ‘कुमारी जात्रा’ को सांस्कृतिक प्रस्तुति यस वर्षको फेस्टिभलको एक प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्