दक्षिण कोरियामा अक्टोबर पाँचमा सम्पन्न नवौँ रेसुङ्गा कप भलिबल प्रतियोगितामा गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्न सफल भएको छ। त्यस्तै उपविजेताको उपाधि सुदूरपश्चिम समाज दक्षिण कोरियाले हात पारेको छ। 
फाइनल खेल अत्यन्तै रोमाञ्चक रह्यो। तीन सेटको प्रतिस्पर्धात्मक खेलमा गुल्मीले दुई सेट आफ्नो पक्षमा पार्दै सुदूरपश्चिम समाजलाई पराजित गर्दै उपाधि जित्न सफल भयो। विजेता गुल्मी सम्पर्क समितिले रु २५ लाख ५५ हजार ५५५ प्राप्त गरेको छ भने उपविजेता सुदूरपश्चिम समाजले रु १५ लाख ५५ हजार ५५५ नगद पुरस्कार प्राप्त गरेको छ।
विधागत तर्फ बिक्रम घर्ति मगर गुल्मी सम्पर्क समितिबाट बेष्ट कोच घोषित भए भने करन वोलीलाई बेष्ट प्लेयरको उपाधि प्रदान गरिएको छ। अनुशाशीत खेलाडीको रुपमा उपेन्द्र थापा मगर गुल्मीबाट चयन भए। त्यसैगरी श्याम थापा मगर बेष्ट सेटर, शिशिर विश्वकर्मा बेष्ट स्पाइकर, निराजन बिष्ट बेष्ट ब्लकर, राजेश विक्रम सिंह बेष्ट सर्भर र रोबिन दहाल बेष्ट लिबेरो घोषित भए।
गुल्मी समाज दक्षिण कोरियाका अध्यक्ष जीवन न्यौपानेले गुल्मी सम्पर्क समितिको ऐतिहासिक जितप्रति हार्दिक बधाई व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “गुल्मीका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै सम्पूर्ण गुल्मीबासीको शिर उच्च बनाएका छन्। खेलकुदले आपसी एकता र भाइचाराको सन्देश दिनुका साथै विदेशमा नेपाली पहिचान झल्काउने माध्यम बनेको छ।”
यसैबीच, गुल्मी सम्पर्क समितिले प्रतियोगिताको सफल आयोजना, समर्थन र सहभागिताका लागि सबै खेलाडी, दर्शक, आयोजक समिति, प्रायोजक तथा सहयोगीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ। समितिले यस विजयी क्षणलाई सम्पूर्ण गुल्मीबासीको गर्वको क्षण भएको उल्लेख गर्दै भविष्यमा पनि यस्ता प्रतियोगिताले आपसी एकता र सहयोगलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।
रेसुङ्गा कपले कोरियामा रहेका नेपालीहरूबीच खेलकुदमार्फत भाइचारा, मित्रता र एकताको भावना अझ सुदृढ बनाउन सहयोग पु¥याएको छ।







