दक्षिण कोरियामा पाँच-स द्वारा बडादशैं–२०८२ टिकाजमरा ग्रहण कार्यक्रम

0
165

देशमा पछिल्ला शोकपूर्ण घटनाहरूले सम्पूर्ण नेपाली समाजलाई स्तब्ध बनाएको अवस्थामा, विदेशमा रहेका नेपालीहरूले पनि दुःखको घडीमा मातृभूमिसँग आत्मीयता प्रकट गर्दै नजिकै आईरहेको दशैलाई धार्मिक आस्था र परम्परालाई जर्गेना गर्ने उद्देश्य सहित सनातन साहित्य सङ्गीत साधना समूह (पाँच–स) दक्षिण कोरियाले यस वर्षको दशैं पर्वमा आयोजना गर्न लागेको टिका जमरा ग्रहण तथा दुर्गा पूजाको विशेष कार्यक्रमलाई केही परिमार्जनसहित सञ्चालन गर्ने भएको छ ।

समूहले जारी गरेको विज्ञप्तिअनुसार दशैंको मुख्य दिन २०८२ असोज १९ गते (2025 October 05, आइतबार) बिहान १०:३० बजेबाट कार्यक्रम सुरु हुनेछ । मुख्य स्थल साझा मन्दिर तथा आनसान नेपाली पुस्तकालय, आनसान तोकिएको छ ।

कार्यक्रममा विधिवत् दुर्गा पूजा, अखण्ड भजन–कीर्तन, सामूहिक टिका जमरा ग्रहण, शुभकामना आदान–प्रदान, विजयादशमीको महिमा वाचन र केही सांस्कृतिक प्रस्तुति रहने जनाइएको छ । तर, देशमा भएका शोकपूर्ण घटनालाई सम्मान दिँदै विगतका वर्षभन्दा भव्य मनोरञ्जनात्मक प्रस्तुति भने सीमित गरिएको आयोजकले स्पष्ट पारेको छ ।

समूहका अध्यक्ष श्याम अर्याल र महासचिव मनोज आचार्यले जारी गरेको विज्ञप्तिमा, दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई धार्मिक आस्था र भावनासहित सहभागी हुन अनुरोध गरिएको छ । साथै, विजया दशमीको दिन मन्दिर खुला रहने र दर्शन पूजन गर्न सकिने जानकारी दिइएको छ ।

आयोजकले कार्यक्रमलाई सफल बनाउन सबैलाई उपस्थित रहन आह्वान गर्दै, “साहित्य र सङ्गीतको माध्यमबाट विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास” भन्ने नारा अघि सारेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्