दक्षिण कोरियामा रहेका नेपालीहरूले यस वर्षको छुसक पर्वलाई विशेष बनाउन पाउने भएका छन्। पाँचथर सेवा समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको “पाँचथर सांगीतिक सौगात भाग–२ (२०२५)” अन्तर्गत चर्चित गायक सुजन चापागाईं एण्ड द इन्फिनिटीले लाइभ प्रस्तुति दिने भएका छन्।
ग्रामीण शिक्षामा सहयोग र आपतकालीन राहत कोष अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको यस कार्यक्रममा लोकप्रिय गायिका श्रेया राइ र गायक नोगेन लिम्बुको समेत दमदार प्रस्तुति रहनेछ।
यो भव्य कार्यक्रम २०२५ अक्टोबर ५ (आइतबार) का दिन सउलको KUKKIWON, गंगनममा हुने भएको छ। गेट अपराह्न २:०० बजे खुल्नेछ भने प्रस्तुति ५:३० बजेबाट सुरु हुनेछ।
पाँचथर सेवा समाज दक्षिण कोरियाका अध्यक्ष रमेश लावतीका अनुसार, यो कार्यक्रम प्रवासी नेपालीबीच भाईचारा बढाउने, नेपाली सांगीतिक संस्कृति प्रवर्द्धन गर्ने र सामाजिक कार्यमा सहयोग जुटाउने उद्देश्यसहित आयोजना गरिएको हो। यसअघि पनि संस्थाले विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रम गर्दै आएको छ।
कार्यक्रमबाट संकलित रकम ग्रामीण शिक्षाको प्रवर्द्धन र आपतकालीन कोषमा विनियोजन गरिनेछ। यसपटक नेपाल सम्पर्क समिति दक्षिण कोरिया र पूर्वी नेपाल समाज दक्षिण कोरियाको सहकार्यमा कार्यक्रम आयोजना हुन लागेको हो।
छुसक बिदाको अवसर पारेर आयोजना हुने यो कार्यक्रम प्रवासी नेपालीहरूको ठूलो भेटघाट र मनोरञ्जनको प्रमुख आकर्षण हुने अपेक्षा गरिएको छ।






