नेकपा (माओवादी केन्द्र) निकट प्रवासी संगठन नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरिया अन्तर्गत लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा दक्षिण कोरिया महाशाखाको प्रथम भेला हिजो (अगस्ट ३१) जुम भर्चुअल माध्यममार्फत भव्य रूपमा सम्पन्न भएको छ।
भेलामा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य मुक्सामहाङ मेन्याङ्बो “क. मुकेश” प्रमुख अतिथि तथा नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाका अध्यक्ष क. जीवन खतिवडा विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
भेलालाई सम्बोधन गर्दै अध्यक्ष मेन्याङ्बोले माओवादी पार्टीले छिट्टै कोशी प्रदेशसभामा प्रदेशको पुनः नामांकनका लागि फरक मत पेश गर्ने जानकारी दिनुभयो। उहाँले माओवादी निकट विभिन्न राष्ट्रिय मोर्चाहरूको सम्मेलनले ऐतिहासिक सभ्यता र पहिचानका आधारमा प्रदेशको नाम “किराँत लिम्बुवान कोचीला प्रदेश” राख्ने निर्णय गरेको बताउनुभयो। यस विषयमा पार्टीको केन्द्रीय पदाधिकारी बैठकमा निर्णय भइसकेको र प्रदेशसभामा फरक मत पेस भएपछि पार्टीको स्पष्ट पोजिसन जनतामाझ प्रष्ट हुने उहाँको भनाइ थियो। साथै उहाँले पहिचान र संघीयताको मुद्दा प्रचण्डकै नेतृत्वमा स्थापित भएको भन्दै यसको पूर्णता पनि प्रचण्डकै नेतृत्वमा संभव हुने विश्वास व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि खतिवडाले आफ्नो नेतृत्वमा दक्षिण कोरियामा पार्टी संगठनलाई सुदृढ बनाउन र प्रवासी नेपालीहरूको आवाजलाई प्रतिनिधित्व गर्दै “समृद्ध नेपाल निर्माणको निम्ति प्रवासीहरूद्वारा वैधानिक विप्रेषण, प्रवासबाटै मताधिकार प्राप्ति र स्वदेशमा लगानीमैत्री वातावरण” भन्ने नारालाई सार्थक बनाउन काम भइरहेको बताउनुभयो। उहाँले पहिचानको मुद्दालाई सबल बनाउन विभिन्न जातीय मोर्चाहरूलाई थप सक्रिय र प्रभावशाली बनाउने योजना पनि प्रस्तुत गर्नुभयो।
भेलामा नेपाली जनप्रगतिशील मञ्च पूर्वी एसिया क्षेत्रीय सदस्य के.वि. चाम्लिङ, किराँती राष्ट्रिय मुक्ति मोर्चा नेपाल एसिया प्रवास महाशाखाका इन्चार्ज राई सुरज किराँती, तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल कोरियाका सल्लाहकार विवि स्याङतान तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए।
भेलाले सुरेन लावतीको संयोजकत्वमा २१ सदस्यीय सम्मेलन आयोजक समिति चयन गरेको छ। समितिमा साओतहाङ नेम्वाङ, हर्क वनेम फागो, म. नगेश्वर लिम्बू, अरुण आङथुप्पो लिम्बू, सनम चेम्जोङ, गगन लावती, सन्तकुमार लावती, किरण लावती, मनबहादुर लावती, विक्रम जबेगु, सुरेश नेम्वाङ, माहान आङदेम्बे लिम्बू, कुबेर पन्धाक लिम्बू, युद्धराज ताम्लिङ लिम्बू, कमलराज ईदिङ्गो, सुरेन चेम्जोङ लिम्बू, देउमान लिम्बू लगायतका सदस्यहरू रहेका छन्। 
कार्यक्रमको सभापतित्व नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाका सचिव सुरेन लावती लिम्बूले गर्नुभएको थियो। सियोल क्षेत्रीय अध्यक्ष हर्क हाङ्सरुम्बाले स्वागत मन्तव्य दिनुभएको थियो भने शिवकुमार पयाङ्गुले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।






