दक्षिण कोरिया – दक्षिण कोरियामा रहेका नेपाली श्रमिक, विद्यार्थी तथा कागजात नवीकरण नभएकाहरूका लागि ठूलो राहतको खबर आएको छ। पार्वती मोक्तान नेतृत्वको गैर आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरिया र कोरियाली चिकित्सक समाजबीच निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्ने सम्झौता भएको हो। 
बुधबार, एयस डकाष्टको कार्यालयमा सम्पन्न विशेष समारोहमा NRNA दक्षिण कोरियाकी अध्यक्ष पार्वती मोक्तान र कोरियाली चिकित्सक समाजका अध्यक्ष इम सक योङले सम्झौता पत्रमा हस्ताक्षर गरे।
सम्झौता अनुसार, आगामी सेप्टेम्बर २० देखि हरेक दुई महिनामा एकपटक स्वास्थ्य शिविर सञ्चालन गरिनेछ, जसमा बिरामीको निःशुल्क स्वास्थ्य परीक्षणदेखि आवश्यक औषधि वितरणसम्मको सेवा उपलब्ध हुनेछ। चिकित्सक समाजले औषधि, जनशक्ति र उपकरणको व्यवस्था गर्नेछ भने NRNA दक्षिण कोरियाले प्रचार–प्रसार, बिरामी दर्ता तथा सहजीकरणको जिम्मेवारी लिनेछ।
सम्झौता हस्ताक्षर कार्यक्रममा NRNA का वरिष्ठ उपाध्यक्ष तारा पुन मगर, उपाध्यक्ष निरञ्जन भण्डारी, सचिव सोनाम शेर्पा, महिला संयोजक मिता गुरुङ लगायतको उपस्थिति थियो।






