कोरियामा रहेका नेपालीहरूबीच आपसी मेलमिलाप, एकता र सांस्कृतिक सञ्जाललाई अझ मजबुत बनाउने उद्देश्यले मधेशी समाज दक्षिण कोरियाले दुई दिन एक रातको विशेष पिकनिक तथा भ्रमण कार्यक्रमको आयोजना गर्ने भएको छ।
यो कार्यक्रम २०२५ अक्टोबर ६ देखि ७ तारिखसम्म दक्षिण कोरियाको प्रसिद्ध प्राकृतिक गन्तव्य स्थल थान्याङ (단양), 충청북도मा हुने निश्चित भएको छ। कार्यक्रममा प्याराग्लाइडिङ, गुफा अवलोकन, र्याफ्टिङ, बाइक राइडिङ, ग्रुप डान्स, योगा, रात्रि भोज लगायतका विविध रोमाञ्चक र मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिनेछ।
भ्रमण टोली सोमबार बिहान आन्सान र सुवनबाट बसमार्फत प्रस्थान गर्नेछ। सुवन स्टेशनको गेट नम्बर ४ बाट बिहान ८ बजे बस छुट्ने समय तय गरिएको छ।
यस कार्यक्रममा सीमित १०० जनाको मात्र सहभागिता सुनिश्चित गरिनेछ। सहभागिताका लागि इच्छुकले ५०,००० कोरियन वन तोकिएको खातामा २०२५ अगस्ट ३१ भित्र रकम जम्मा गरी सिट सुरक्षित गर्नुपर्नेछ। बैंक खाता विवरण र रकम पठाएको प्रमाण स्लिप सम्बन्धित नम्बरमा पठाउन आयोजकले अनुरोध गरेका छन्।
आयोजकले समयमै नपुगेमा बुकिङ रकम फिर्ता नहुने स्पष्ट उल्लेख गर्दै सबै नेपाली समुदायलाई यस रमाइलो यात्रामा सहभागी भई सांस्कृतिक आत्मीयता अझ सशक्त बनाउन आह्वान गरेका छन्।
मधेशी समाज दक्षिण कोरिया परिवारले समस्त कोरियाबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई यो सांस्कृतिक यात्रामा सहभागी भई कार्यक्रमलाई सफल बनाउन हार्दिक निमन्त्रण गरेको छ।






