३१औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव २०२५ को दक्षिण कोरियामा विशेष कार्यक्रमसहित आयोजना हुने

0
158

सउल, दक्षिण कोरिया — नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरिया तथा १२ वटा जातीय संघसंस्थाहरू, फोनिज कोरिया र दुई साहित्यिक संस्थाहरूको संयुक्त आयोजनामा आउँदो १० अगष्ट २०२५ आइतवार, ३१औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव २०२५ विविध कार्यक्रमसहित भव्य रूपमा मनाइने भएको छ। कार्यक्रम विहान ११ बजे सउल मेट्रो लाइन नं. १ अन्तर्गत पर्ने दोम्योअप स्टेशनको गेट नम्बर ३ नजिकै सञ्चालन हुनेछ।

यस वर्षको महोत्सव “प्राकृतिक श्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर !” भन्ने नारासहित सम्पन्न हुने छ। युनिस्को र आइएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गराउनुपर्ने मागलाई कार्यक्रममार्फत जोड दिइनेछ। साथै, “संस्कृतिक प्रवर्द्धन र सांस्कृतिक अन्तरघुलनका साथमा सामाजिक रुपान्तरणका निम्ति देशलाई जोड्दै प्रवासमा देश चिनाउने अभियान” भन्ने दृष्टिकोणलाई पनि कार्यक्रमको मूल भावनाका रूपमा समेटिएको छ।

कार्यक्रममा विविध जातीय समुदायका मौलिक संस्कृति र परम्पराको झल्को दिने नृत्य तथा झाँकीहरू प्रस्तुत गरिनेछ। मगर समुदायको कौराह, गुरुङको सोरठी, राईको सिलि, लिम्बुको केलाङ (च्याब्रुङ), तामाङको सेलो र डम्फु, नेवारको धिमे नाच, थारुको मघौटो, शेर्पा र ह्योल्मो समुदायको स्याब्रु तथा सुदूरपश्चिम नेपालको मौलिक देउडा नृत्य र गायनले कार्यक्रमलाई सांस्कृतिक रंग दिनेछ।

साथै, विभिन्न समुदायहरूको मौलिक परिकारहरू पनि महोत्सवको आकर्षणको केन्द्र हुनेछन्। मगर समुदायको बारा–तरुल, गुरुङको भाब्रे रोटी, राई लिम्बु समुदायको वाचिपा र याङ्बेन, तामाङको खाप्से–पानी आलुम, शेर्पाको खाप्से, थारुको घोँगी–माछा, नेवार समुदायको छोइला–चिउरा तथा परम्परागत रैथाने परिकार जस्तै कोदोको जाँड र सेलरोटी महोत्सवमा सहभागीहरूको स्वादको केन्द्रमा रहनेछन्।

यो कार्यक्रम सउलस्थित नेपाली समुदायका लागि मात्र नभई कोरियाली नागरिक तथा अन्य अन्तर्राष्ट्रिय समुदायसमक्ष पनि नेपाली आदिवासी जनजातिको सांस्कृतिक पहिचान र वैभव प्रस्तुत गर्ने अवसरका रूपमा लिइएको छ। कार्यक्रममा प्रवेश निःशुल्क रहेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्