फोहाङमा गर्मीका कारण नेपाली श्रमिकको मृत्यु, MTU-KCTU द्वारा श्रम कार्यालय अगाडि पत्रकार सम्मेलन

0
115

दक्षिण कोरिया – जुलाई २४ मा 포항 (फोहाङ) स्थित एक जङ्गलमा काम गर्ने क्रममा अत्यधिक गर्मीका कारण एक नेपाली श्रमिकले ज्यान गुमाएका छन्। यो घटनाले फेरि एकपटक प्रवासी श्रमिकको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।

उक्त घटनापछि प्रवासी श्रमिकको सुरक्षाका लागि क्रियाशील मजदुर संगठन MTU (Migrant Trade Union) तथा KCTU (Korean Confederation of Trade Unions) ले फोहाङ श्रम कार्यालय अगाडि पत्रकार सम्मेलन गर्दै घटनाको गम्भीर छानबिन गरिनुपर्ने माग गरेका छन्।

पत्रकार सम्मेलनमा गर्मीमा काम गराउँदा पालना गर्नुपर्ने सुरक्षात्मक नियमहरू उल्लङ्घन गरिएको, कार्यस्थलमा श्रम कार्यालयको नियमित निरीक्षणको अभाव रहेको, र फोहाङ नगरपालिकाको गैरजिम्मेवार गतिविधि नै घटनाको मुख्य जिम्मेवार भएको बताएका छन्।

संगठनले दोषी ठेकदार कम्पनी र सम्बन्धित निकायमाथि कडा कानुनी कारबाहीको माग गर्दै भनेको छ, “प्रवासी श्रमिक काम गर्न आएका हुन्, ज्यान गुमाउन होइन। उनीहरूले सुरक्षित वातावरणमा काम गर्न पाउने अधिकार सुनिश्चित गरिनुपर्छ।”

गर्मीका कारण यसअघि पनि जुलाई ७ मा एक भियतनामी श्रमिकको मृत्यु भएको थियो। यो वर्ष हालसम्म ३ जना प्रवासी श्रमिकको गर्मीका कारण मृत्यु भइसकेको तथ्यांकले स्थिति भयावह बनाएको छ।

MTU-KCTU ले यस्तो दुर्घटना दोहोरिन नदिन तत्कालै कडा कानुन लागु गर्न, कार्यस्थलको निरीक्षणलाई नियमित र प्रभावकारी बनाउन तथा सबै श्रमिकहरूको सुरक्षालाई प्राथमिकतामा राख्न माग गरेका छन्।

संगठनको भनाइ अनुसार, “सबै श्रमिक एकजुट भएर संघर्ष गर्नुपर्छ ताकि अब कुनै पनि श्रमिकले यस्तो अमूल्य ज्यान गुमाउनु नपरोस्।”

सुचना स्रोत : MTU अध्यक्ष उदयराईको फेसबुक पेज

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्