विपिन गुरुङ अध्यक्ष रहेको एनआरएनए कोरिया द्वारा बृहत अन्तरक्रिया, पत्रकार सम्मेलन तथा प्रतिबद्धता सार्वजनिक कार्यक्रम सम्पन्न — एकताको सन्देशप्रति जोड

0
197

जुलाई २६ — गैर-आवासीय नेपाली संघ (NRNA-NCC) दक्षिण कोरियाको अध्यक्ष विपिन कुमार गुरुङको नेतृत्वमा रहेको कार्यसमितिद्वारा आयोजित बृहत अन्तरक्रिया, पत्रकार सम्मेलन तथा प्रतिबद्धता सार्वजनिक कार्यक्रम दक्षिण कोरियाको राजधानी सउलस्थित दोङदेमुनको दर्शन नमस्ते रेस्टुरेन्टको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको मूल उद्देश्य कोरियामा सक्रिय नेपाली संघसंस्था, समुदाय अगुवा, सञ्चारकर्मी, राजनीतिक प्रतिनिधि तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूसँग प्रत्यक्ष संवाद गर्दै संघप्रति धारणा बुझ्नु, सुझाव संकलन गर्नु तथा आगामी कार्ययोजना र प्रतिबद्धताबारे साझा दृष्टिकोण प्रस्तुत गर्नु रहेको थियो।

कार्यक्रममा अध्यक्ष विपिन गुरुङको सभापतित्व रहेको थियो भने पूर्व ICC अध्यक्ष तथा वर्तमान संरक्षक विनोद कुँवर प्रमुख अतिथिको रूपमा सहभागी हुनु भएको थियो। साथै ICC की महिला उपाध्यक्ष जुनु गुरुङ, सदस्य महेश बजगाईं, Global IME Bank को कोरिया शाखा प्रमुख ईश्वर धामी, लावा मिडियाका प्रबन्ध निर्देशक शुभराज बोम्जन, साथै विभिन्न सल्लाहकार तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा दक्षिण कोरियामा क्रियाशील प्रमुख संघसंस्था तथा राजनीतिक संगठनका प्रतिनिधिहरू—जसमा जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति भजिन्द्र क्षेत्री, जनप्रगतिशील मञ्चका अध्यक्ष जीवन खतिवडा, नेपाल सम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष हर्क विष्ट, आदिवासी जनजाति महासंघका अध्यक्ष विशन राई लगायत बागमती, गण्डकी, पूर्वी नेपाल, कर्णाली प्रदेश समाज, तामाङ घेदुङ, मगर संघ, दैलेख समाज लगायतका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सञ्चार क्षेत्रको पनि प्रभावशाली सहभागिता देखिएको थियो। आदिवासी जनजाति पत्रकार महासंघका कार्यवाहक अध्यक्ष उत्तम खजुम, पत्रकार अमिर योन्जन, न्युज केन्द्रविन्दुका सोनम पराजुली, लावा मिडिया, कामदार दैनिक लगायत अन्य मिडियाका प्रतिनिधिहरूको उपस्थिति कार्यक्रमलाई अझ गहिरो संवादमूलक र समावेशी बनाएको थियो।

कार्यक्रममा संघको वैधानिक स्थिति, कार्यसमिति गठनपछिको गतिविधि, प्रगति विवरण तथा आगामी योजनाबारे स्पष्ट प्रस्तुति गरिएको थियो। संघले सार्वजनिक गरेको प्रतिबद्धता दस्तावेजप्रति सहभागीहरूले सकारात्मक अभिव्यक्ति दिएका थिए भने संघलाई आवश्यक सहयोग तथा समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

यद्यपि, सामाजिक सञ्जाल तथा प्रचारप्रसारमा कार्यक्रमप्रति चासो देखिए पनि भौतिक उपस्थिति अपेक्षा अनुसार उत्साहजनक नभएको सहभागीहरूको टिप्पणी थियो। कतिपय विशिष्ट व्यक्तित्व, अग्रज नेता तथा संघ–संस्थाका प्रतिनिधिहरूको अनुपस्थितिले समग्र सहभागिता केही फितलो देखिएको भए पनि उपस्थित व्यक्तिहरूको सुझाव, बहस र योगदान निकै सकारात्मक, रचनात्मक र उद्देश्यपूर्ण रहेको थियो।

कार्यक्रममा दक्षिण कोरियामा हाल दुईवटा एनआरएनए समिति क्रियाशील रहेको परिप्रेक्ष्यमा भविष्यमा दुवै पक्ष एकजुट भई अघि बढ्नुपर्ने आवश्यकता औंल्याइएको थियो। सहभागीहरूको साझा भनाइ थियो—

“एनआरएनएको नाममा विभाजन होइन, एकताको सन्देश जाओस्।”
यस भावनाले कार्यक्रमको मूल सन्देशलाई प्रतिबिम्बित गर्दै एकता, पारदर्शिता र सहकार्यको भावना अभिवृद्धि गर्ने दिशामा सकारात्मक प्रभाव पारेको स्पष्ट देखिन्थ्यो।

NRNA-NCC दक्षिण कोरियाको यो कार्यक्रमले प्रवासी नेपाली समाजमा संवाद र विश्वासको पुल निर्माण गर्ने दिशामा महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको विश्वास रहेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्