दक्षिण कोरियामा “नेपाल डे २०२५” हुँदै

0
144

दक्षिण कोरिया, जुलाई १४ – यही आउँदो जुलाई २० तारिख, २०२५ मा दक्षिण कोरियाको राजधानी सउलस्थित मरोनीय पार्कमा “नेपाल डे २०२५” भव्य रूपमा आयोजना हुन लागेको छ। नेपाल सरकार, दक्षिण कोरियास्थित नेपाली दूतावासको आयोजनामा तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको सह–आयोजनामा हुने यस विशेष दिवसले नेपाली संस्कृति, भाषा, कला र पर्यटनको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा योगदान दिने लक्ष्य लिएको छ।

कार्यक्रम बिहान ९ बजे हेवा स्टेशन (लाइन ४), एक्जिट २ नजिकैको मरोनीय पार्कमा सुरु हुनेछ। यस अवसरमा बुद्ध नेपालमा जन्मिएको ऐतिहासिक सत्य र सगरमाथा संसारकै सर्वोच्च शिखर भएको गौरवलाई मुख्य सन्देशका रूपमा प्रस्तुत गरिनेछ। साथै, नेपाली लोकसंगीत, नृत्य, परम्परागत लुगा, पर्यटन प्रवर्द्धन तथा कला–संस्कृतिका विविध झलकहरू पनि समावेश गरिनेछन्, जसले सहभागीहरूलाई नेपालको सांस्कृतिक सम्पदासँग नजिक ल्याउने विश्वास गरिएको छ।

कार्यक्रमले कोरियामा रहेका नेपालीहरूबीच आपसी विश्वास, सहकार्य र एकताको वातावरण सृजना गर्नुका साथै नेपाली र कोरियन समुदायबीच सांस्कृतिक सेतु निर्माण गर्ने अपेक्षा गरिएको छ।

एनआरएनए राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको सह–आयोजनामा हुने कार्यक्रममा नेपाली सम्पर्क समिति (NCC), नेपाल आदिवासी जनजाति महासंघ, नेपाल पत्रकार महासंघ, नेपाली विद्यार्थी समाज (SONSIK) लगायत विभिन्न प्रदेशीय तथा क्षेत्रीय समाजहरूले सहकार्य र सहजीकरणको भूमिका निर्वाह गर्नेछन्।

कार्यक्रममा प्रमुख आतिथिका रूपमा दक्षिण कोरियाका लागि नेपाली राजदूत महामहिम डा. शिवमाया तुम्बाहाङ्फेले सहभागीता जनाउनेछिन्। उहाँले दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली राजनीतिक संघ–संस्था, जातीय संगठन, विद्यार्थी, पत्रकार तथा कोरियन मित्रहरूलाई कार्यक्रममा सहभागी हुन हार्दिक आमन्त्रण गर्नुभएको छ।

“नेपाल डे” कार्यक्रममार्फत नेपाल–कोरिया सम्बन्ध थप सुदृढ हुने र नेपाल तथा नेपाली समुदायको अन्तर्राष्ट्रिय पहिचान अझ स्पष्ट रूपमा स्थापित हुने विश्वास आयोजकहरूको रहेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्