दक्षिण कोरियामा नेपालीहरूको उपचारमा विशेष छुट, नेपाली सम्पर्क समितिको महत्वपूर्ण सहकार्य

0
183

उल्सान, — नेपाली सम्पर्क समिति (Nepalese Consulting Committee – Rep. of Korea – NCC) र दक्षिण कोरियाको Woowa Medical Foundation अन्तर्गतका तीन प्रमुख स्वास्थ्य संस्थाबीच २०२५ मार्च १२ मा एक आपसी समझदारीपत्र (MOU) मा हस्ताक्षर भएको छ। समझदारीपश्चात् दक्षिण कोरियामा बसोबास गरिरहेका नेपाली समुदायले बीमा नभएका अवस्थामा समेत छुटसहित स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने भएका छन्।

सम्झौताअनुसार, Bangudong Gilmary Geriatric Hospital र Daldong Gilmary Rehabilitation Hospital मा Non-Insurance (बीमा बाह्य) सेवामा २० प्रतिशत छुट दिइनेछ भने, Jeon Byeong Chan Neurosurgery Clinic मा १० प्रतिशत छुट उपलब्ध हुनेछ। यी संस्थाहरूले मस्तिष्क तथा मेरुदण्डसम्बन्धी MRI, स्टेम सेल र जेनेटिक परीक्षण, अल्ट्रासाउन्ड–गाइडेड डिस्क इन्जेक्सन, स्ट्रोक, पार्किन्सन, डिमेन्सिया, फिजियोथेरापी तथा मस्कुलोस्केलेटल म्यानुअल थेरापी सेवा प्रदान गर्दै आएका छन्।

विशेषगरी Daldong Gilmary Rehabilitation Hospital मा नेपाली डाक्टर राजेश चन्द्र जोशी कार्यरत हुनुहुन्छ, जो लामो समयदेखि कोरियामा रहेका नेपालीहरूको स्वास्थ्य समस्यामा निःशुल्क अनलाइन परामर्श प्रदान गर्दै आउनुभएको छ। उहाँ नेपाली सम्पर्क समिति – एनसीसीको स्वास्थ्य परामर्श विभागका सल्लाहकार समेत हुनुहुन्छ। उक्त अस्पतालमा हाडजोर्नी, ढाड दुख्ने, सर्जरीपछि रिकभरीको आवश्यकता परेका बिरामीहरूका लागि विशेष फिजियोथेरापी सेवा उपलब्ध छ, जसले सर्जिकल पुनःस्थापना तथा पुनस्र्थापनासम्बन्धी गम्भीर समस्या समाधानमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा एनसीसीको तर्फबाट अध्यक्ष हरिप्रसाद खनाल, वरिष्ठ उपाध्यक्ष हर्क विष्ट र स्वास्थ्य सल्लाहकार डा. जोशीले सहकार्य समन्वय गर्नुभएको थियो। अध्यक्ष खनालले कोरियामा रहेका नेपालीहरूको स्वास्थ्य पहुँचलाई सहज, सुरक्षित र गुणस्तरीय बनाउन यस्तो समझदारी महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले सेवा लिने क्रममा “Nepalese Consulting Committee – Rep. of Korea” उल्लेख गर्न अनुरोध गर्नुभएको छ, जसबाट छुटहरूमा पहुँच सुनिश्चित हुनेछ।

यो समझदारीपछि विशेषगरी बुसान, खिमे, उल्सान र खेन्जु आसपासका नेपालीहरूले सहज रूपमा सुविधा लिन सक्नेछन्। अस्पतालहरूले नेपाली समुदायका लागि संस्कृति–अनुकूल र विश्वासिलो वातावरणमा सेवा दिने प्रतिबद्धता जनाएका छन्।

सम्बन्धित अस्पतालहरूको सम्पर्क विवरण यसप्रकार छ
Bangudong Gilmary Geriatric Hospital 106 Seowon 1-gil, Jung-gu, Ulsan
 052-296-0030

Daldong Gilmary Rehabilitation Hospital 146 Dotjil-ro, Nam-gu, Ulsan
 052-996-0030

Jeon Byeong Chan Neurosurgery Clinic
146 Dotjil-ro, Nam-gu, Ulsan
 052-977-0030

यस सहकार्यबाट नेपाल–कोरिया सम्बन्धको सामाजिक पक्षमा थप विश्वास, स्वास्थ्य सुरक्षामा पहुँच र नेपाली समुदायप्रति कोरियन संस्थाहरूको आत्मीयता अभिवृद्धि हुने विश्वास लिइएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्